images
images

कटारी नगरपालिकाबाट अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण

कटारी/कटारी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवन सहज, स्वावलम्बी र सम्मानजनक बनाउन उद्देश्यले सहायक सामग्री वितरण गरेको छ। आर्थिक वर्ष २०८०÷८१ अन्तर्गत सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रममार्फत आयोजित शिविरमा नापजाँच भई छनोटमा परेका लाभग्राहीहरूलाई आवश्यक उपकरण प्रदान गरिएको हो।

कार्यक्रम अन्तर्गत विभिन्न खालका अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकताअनुसार सहायक सामग्रीहरू वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले वितरण गरेको सहायक सामग्रीहरूमा ह्वीलचियर ४ वटा, सी.पी. चियर ६ वटा, ट्राइसाइकल १ वटा, एल्बो क्रचेज १ सेट, लम्बर बेल्ट २ थान, श्रवण यन्त्र ५ वटा, आंशिक खुट्टा १ थान, घुँडा मुनिको खुट्टा २ थान, घुँडा माथिको खुट्टा २ थान, विशेष प्रकारको जुत्ता ३ जोड़ा, चारपाङ्ग्रे स्कुटर ४ वटा र इलेक्ट्रिक साइकल १ वटा रहेका छन्।
नगर प्रमुख राजेश चन्द्र श्रेष्ठले अपाङ्गता भएका नागरिकहरूको समावेशी विकासमा स्थानीय सरकार प्रतिवद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो प्रयास अपाङ्गता भएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोग मात्र होइन, उनीहरूलाई आत्मनिर्भर जीवनयापनमा सक्षम बनाउने दिशामा केन्द्रित छ।”

उपप्रमुख गिता खड्काले वितरण गरिएको साहायक समाग्रीले अपाङ्गता भएका व्यक्तिहरूकोे दैनिकीमा सहज हुने विश्वास व्यक्त गर्नु भयो ।
कटारी नगरपालिकाले आगामी दिनहरूमा पनि यस्ता सहुलियत कार्यक्रमलाई निरन्तरता दिँदै अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य, शिक्षा र रोजगारीका अवसरमा पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।