
कटारी – “प्लास्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व“ भन्ने नाराका साथ मनाइएको विश्व वातावरण दिवस २०८२ को अवसरमा प्राकृतिक स्रोत व्यवस्थापन कलेज, कटारी को परिसर वरिपरि २०० वटा बिरुवा रोपिएको छ।
उक्त वृक्षारोपण कार्यक्रम डिभिजन वन कार्यालय त्रीवेणी कटार आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा इलाका प्रशासन कार्यालय कटारी की प्रमुख कोपिला राई,डिभिजन वन कार्यालयका प्रमुख अनिरुद्र शाह, कटारी अस्पताल प्रमुख डाक्टर गौरव शाह लगाएत विभिन्न सामाजिक संघ–संस्था, विद्यार्थी, तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालयका प्रमुख अनिरुद्र शाहले प्लास्टिक प्रदूषण आजको युगको एक गम्भीर समस्या रहेको र यसले माटो, पानी, जीवजन्तु र मानव स्वास्थ्यमा दीर्घकालीन असर पुर्याइरहेको भन्दै उहाँले प्लास्टिकको प्रयोग घटाउन, विकल्प अपनाउन र जनचेतना फैलाउन गम्भीरतापूर्वक कदम चाल्नुपर्ने बताउनु भयो ।
यसै गरी इलाका प्रशासन कार्यालयका प्रमुख कोपिला राईले वातावरण संरक्षणको अभियान कुनै एक निकाय वा सरकारको मात्र नभएर हरेक नागरिकको साझा दायित्व रहेको बताउनु भयो । उहाँले आजको दिनलाई एउटा प्रेरणाको स्रोत बनाउँदै, दैनिक जीवनमै वातावरणमैत्री अभ्यास गर्न सुरु गर्नु पर्ने साथै, प्लास्टिक सट्टा कपडा झोला प्रयोग गर्ने, बढीभन्दा बढी बिरुवा लगाउने, फोहोर व्यवस्थापनमा सचेत रहने जस्ता सरल तर प्रभावकारी अभ्यासहरू गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रमको मुख्य उद्देश्य वातावरण संरक्षण, हरित क्षेत्रको प्रवद्र्धन, र प्लास्टिकजन्य प्रदूषणको न्यूनीकरणमा जनचेतना अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ । कार्यक्रमका वक्ताहरूले वातावरण बचाउन वृक्षारोपणसँगै प्लास्टिकको प्रयोग घटाउने व्यावहारिक कदम चाल्न आवश्यक रहेकोमा जोड दिएका थिए।
संयुक्त राष्ट्रसंघको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ । नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ ।