हेटौंडा/बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले आफ्नो नियुक्ति पश्चात सय दिनमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरेकी छन्। गत ९ साउनमा मन्त्री नियुक्त भएकी तामाङले आफुले सम्हालेको मन्त्रालय अन्तर्गत सम्पन्न मुख्य कार्यहरूको समीक्षा प्रस्तुत गरिन् ।
मन्त्री तामाङका अनुसार “प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” प्रदेश सभाबाट पारित भई प्रदेश राजपत्रमा प्रकाशनपछि कार्यान्वयनमा आएको छ । साथै, “प्रदेश औद्योगिक व्यवसाय ऐन” र “प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन” तयार गरी अन्य मन्त्रालयहरूबाट राय लिई मन्त्रिपरिषद्मा पेश गर्ने प्रक्रियामा रहेको जानकारी दिइन् ।
मन्त्री तामाङले आर्थिक वर्ष २०८१÷०८२ का लागि स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन कार्यविधि पारित गरी कार्यान्वयनमा ल्याइएको बताइन्। उनले उद्यमी व्यवसायीहरूलाई प्रोत्साहन गर्दै “प्रविधि हस्तान्तरण सम्बन्धी कार्यविधि, २०७९” मा आवश्यक संशोधन गरी प्रविधि हस्तान्तरण कार्यक्रम अघि बढाउने योजना रहेको उल्लेख गरिन् ।
साना र घरेलु उद्योगको प्रवर्द्धन
साना, घरेलु तथा लघु उद्योगहरूको प्रवर्द्धनमा पनि मन्त्रालयले स्थानीय स्तरमा स्वरोजगारी सिर्जना गर्ने नीति अनुसार तालिम कार्यक्रमहरूको मस्यौदा तयार गरी आर्थिक मामिला मन्त्रालयमा राय माग गरिएको मन्त्री तामाङले जानकारी दिइन् । चालु आर्थिक वर्षमा मात्रै करिब २१५६ नयाँ उद्योग र व्यापारिक फर्महरू दर्ता भइसकेको छ ।
बजार अनुगमनमा सक्रियता
दशैं, तिहार लगायत चाडपर्वमा कालोबजारी नियन्त्रण र उपभोक्ता संरक्षणका लागि नियमित बजार अनुगमन गरियो। यस क्रममा १३ वटै जिल्लाका उद्योग तथा वाणिज्य कार्यालयहरूले करिब ५४५ फर्महरूको अनुगमन गरी रु ६ लाख ५५ हजार जरिवाना र म्याद नाघेका सामग्रीहरू नष्ट गरिएको थियो ।
उद्योगहरूको पुनर्स्थापना र नवप्रवर्तन सम्मान
अविरल वर्षा र बाढीका कारण उद्योगहरूमा भएको क्षतिका विवरण संकलन गरी प्रदेश नीति तथा योजना आयोगमा पठाइएको छ । साथै, “नव प्रवर्तन उद्यमी सम्मान मापदण्ड, २०८१” तर्जुमा गरी उत्कृष्ट उद्यमीहरूलाई सम्मान गर्न यो वर्ष प्रदेशभरबाट १४ जना उद्यमी छनोट गर्ने योजना सार्वजनिक गरिन् ।
भूमि व्यवस्थापन र चाक्लाबन्दी अध्ययन
मन्त्रालयले नापी कार्यालय मकवानपुरको प्राङ्गणमा सर्भेपार्क निर्माण तथा गण्डकी प्रदेशको अनुभवको आधारमा चाक्लाबन्दीको सम्भाव्यता अध्ययन गर्ने कार्यको थालनी गरेको छ । साथै, भूमि व्यवस्थापन नीति, औद्योगिक नीति, वाणिज्य नीति लगायतका नीतिहरू तर्जुमा गर्ने अवधारणापत्र निर्माण प्रक्रियामा रहेको जानकारी दिइन् ।
चुनौती र प्रतिबद्धता
मन्त्री तामाङले कानूनी र व्यावहारिक समस्याहरूको सामना गर्दै मन्त्रालयले विभिन्न चुनौतीहरूको बीचमा महत्वपूर्ण कार्यहरू सम्पन्न गरेकोमा खुशी व्यक्त गरिन् । उनले भनिन्, “जहाँ चुनौती हुन्छ, त्यहीँ समाधानको बाटो खुल्छ। राज्यको चौतर्फी हितका लागि हामी निरन्तर क्रियाशील रहनेछौं ।”
मन्त्री तामाङका अनुसार मन्त्रालयले प्रदेश लगानी बोर्ड, भूमि बैंक स्थापनाका लागि नीतिगत आधारहरू तयार गर्दै डिजिटल सूचना प्रणालीमार्फत पारदर्शिता कायम गर्न जोड दिएको छ ।
मन्त्रीको सय दिने कार्यकालमा बागमती प्रदेशको औद्योगिक, वाणिज्यिक, र प्रशासनिक सुधारमा देखिएका यी उपलब्धिहरूलाई उनले राज्यको हितमा नयाँ आयामको थालनीका रूपमा लिएकी छन् ।