images
images

कटारी नगरपालिकामा न्यायिक समितिहरुको अन्तरक्रिया तथा असल अभ्यास आदान–प्रदान कार्यक्रम सम्पन्न

कटारी / कटारी नगरपालिकाको न्यायिक समितिको आयोजनामा उदयपुर जिल्लाका न्यायिक समितिहरुबीच समन्वय, अन्तरक्रिया तथा असल अभ्यास सिकाइ आदान–प्रदान सम्बन्धी एकदिवसीय कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम कटारी नगरपालिकाकी उपमेयर तथा न्यायिक समिति संयोजक गीता खड्काको सभापतित्व तथा नगरप्रमुख राजेशचन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा उदयपुरका आठवटै स्थानीय तहका न्यायिक समिति अन्तर्गतका संयोजक, मेलमिलापकर्ता तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संविधानविद् काँशीराज दाहालले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले सभ्य समाज निर्माणका लागि न्याय सम्पादन चुस्त, दुरुस्त र निष्पक्ष हुनुपर्ने बताउनुभयो। राजनीति तथा व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर न्याय सम्पादन गर्नुपर्ने उहाँको भनाइ थियो।

सभापति उपमेयर खड्काले न्यायिक समितिले नियम–कानुनसँगै कतिपय मुद्दामा व्यवहारिक पक्षलाई पनि ध्यान दिनुपर्ने बताउनुभयो।

त्यसैगरी त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईले वडास्तरीय मेलमिलाप समितिका कारण काम गर्न सहज भएको बताउनुभयो।

यस्तै बेलका नगरपालिकाकी उपमेयर जिरा राई तथा चौदण्डीगढी नगरपालिकाकी उपमेयर माणिकादेवी दुलालले संविधानले दिएको व्यवस्थासँगै न्यायिक क्षेत्रको व्यवस्थापनमा सुधार गर्नुपर्ने धारणा राख्नुभयो।

त्यस्तै ताप्ली गाउँपालिकाकी उपाध्यक्ष धनमाया मगर, उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष जितबहादुर खड्का तथा रौतामाई गाउँपालिकाका उपाध्यक्ष भूपिन्द्रबहादुर थापाले सीमित स्रोत–साधनका बाबजुद न्यायिक क्षेत्रलाई प्रभावकारी बनाउन प्रयास भइरहेको बताएका थिए।

उनीहरूले मेलमिलाप र ‘जित–जित’को अवस्थामार्फत समस्या समाधान गर्ने अभ्यास प्रभावकारी बन्दै गएको धारणा राखेका थिए।

सहजकर्ता दाहालले न्याय सम्पादनले दिगो शान्ति स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। न्यायबिना समाज शान्त रहन नसक्ने भएकाले न्यायिक समितिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो।

दाहालको सहजीकरणमा सहभागीहरूले असल अभ्यास, सिकाइ आदान–प्रदान तथा प्रभावकारी न्याय सम्पादनका उपायबारे छलफल गरिरहेका छन्। कार्यक्रममा विश्वस्तरमा अपनाइएका न्यायिक अभ्यासबारे समेत जानकारी गराइएको थियो।

कार्यक्रम कटारी नगरपालिकाको सभा हलमा सञ्चालन गरिएको थियो।