१९ फागुन , काठमाडौं । बीबीसीसँगको २२ वर्ष लामो आवद्धता त्याग्दै राजीनामा बुझाएका रविन्द्र मिश्रलाई उनका ‘बोस’ एशिया संस्करण सम्पादकले भने- ‘आस्थाको एक विशाल छलाङ ।’
मिश्रको राजीनामा स्वीकृत गर्दै सम्पादकले लेखेका छन्-अ लिप अफ बिग फेइद (A leap of big faith) आगामी दिनको लागि बधाइ र शुभकामना ।
७ लाखको जागिर र १४ वर्षको अवसर त्यागे
संसारभरका पत्रकारका लागि बीबीसीमा काम गर्नु एक विशाल सपना हो । आमसञ्चार तथा पत्रकारिताको इतिहासमा बीबीसी सबैभन्दा पुरानो र विशाल सञ्जाल भएको अन्तर्राष्ट्रिय सञ्चार संस्था हो ।
तर, रवीन्द्र मिश्रले मासिक ७ लाख रुपैयाँ तलब, गाडी र परिवारको स्वास्थ्य बिमासहितको आकर्षक जागिर छाडेर नयाँ पार्टी खोल्ने निर्णय गरे । उनका सम्पादककै भाषामा भन्ने हो भने यो उनको विशाल छलाङ नै हो ।
बीबीसीको नियम अनुसार उनले ६५ वर्षको उमेरसम्म काम गर्न पाउँथे । हाल ५१ वर्षमा दौडिरहेका मिश्रका लागि अझै १४ वर्ष जागिरको चिन्ता थिएन । यति राम्रो नाम र दाम कमाइरहेका बेला उनले लिएको ‘विशाल छलाङ’ले पारिवारिक तनाव भएन त ?
मिश्र भन्छन्- अहँ भएन । मेरी पत्नी र छोराको पूरै साथ छ । तर, बुबाआमा र काकाहरुले अलि चिन्ता गर्नुभएकै हो ।
स्वेच्छिक बन्दीका महत्वाकांक्षी छोरा
रवीन्द्रका बुबा प्रसिद्ध कलाकार तथा साहित्यकार मनुजबाबु मिश्र र उनका भाइ अनाथ थिए । काठमाडौंको बौद्ध महाँकालका स्थायी बासिन्दा मनुजबाबु विगत २५ वर्षदेखि आफ्नै घरमा ‘स्वनजरबन्द’ मा छन् ।
मनुजबाबु बाहिरी दुनियाँबाट बिल्कुल टाढा छन् । यति टाढा कि आफ्नै जीवनी सार्वजनिक समारोहमा पनि उपस्थित नहुने एक ‘अर्ध भूमिगत स्वेच्छिक बन्दी ।’
रवीन्द्र मिश्रका कम्तिमा तीन पुस्ता सक्रिय राजनीतिमा छैनन् । तर, करीव १८ वर्षअघि एक लेख मार्फत छोरोलाई राजनीतिमा लगाउने सार्वजनिक घोषणा गरेका रवीन्द्र मिश्र आफैं राजनीतिमा होमिएका छन् ।
मिश्रका दुई दिदीमध्ये एउटीले पत्रकारिता क्याम्पस चलाउँछिन् भने अर्की सरकारी जागिरमा छिन् । रवीन्द्रका भाइ तारागाउँमा कार्यरत छन् ।
छोरा र पत्नीको साथ पाएका मिश्र बुबाआमासँग होइन, ललितपुरको भैंसेपाटीमा बस्छन्, जहाँ उनका दुईवटा घर छन् । बुबा र काकाकै पालामा सस्तो मूल्य पर्नेबेलामा जग्गा लिएका कारण उनको परिवार औषत भन्दा हुनेखाने वर्गमै पर्छ ।
दार्चुलादेखि लण्डनसम्मको पढाइ
काठमाडौंमा जन्मिए पनि उनको अधिकांश पढाइ लेखाइ सुदूरपश्चिमको दार्चुला र डोटीमा भयो । उनका काका सरकारी जागिरमा भएकाले काकासँगै उनले सुदूरपश्चिमका सरकारी विद्यालयमा गुन्द्री ओछ्याएरै पढेका हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर गरेपछि उनले पाकिस्तानबाट पत्रकारितामा एमए गरे ।
पाकिस्तानमै रहँदा रवीन्द्रले त्यहाँको सबैभन्दा ठूलो मानिने द न्युज इन्टरनेशनल पत्रिकामा करिव अढाइ वर्ष पत्रकारिता गरे । एक प्रकारले स्थापित भएपछि नेपालका मिडियामा लेख लेख्ने बाहेक उनले नेपालको पत्रकारिता भने गरेनन् ।
बीबीसी नेपाली सेवालाई अपवादमा राख्दा नेपाली पत्रकारितासँग उनको प्रत्यक्ष साइनो भेटिन्न ।
अन्तर्राष्ट्रिय राजनीति पढेर राष्ट्रिय राजनीतिमा प्रवेश
लण्डन विश्वविद्यालयबाट सन् २००२ मा अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तर गर्दासम्म उनले राष्ट्रिय राजनीतिमा होमिने सोच बनाएकै थिएनन् । तर, विश्व राजनीतिको सबैभन्दा पूरानो मुहान बेलायतमा अन्तर्राष्ट्रिय राजनीतिमा एमए पास गरेको १५ वर्षपछि उनी विश्व राजनीतिमा पिछडिएको नेपालको राष्ट्रिय राजनीति रोजेका छन् ।
रवीन्द्र मिश्रले विश्वविद्यालय पढ्दासम्म कुनै पनि विद्यार्थी संगठनको सदस्यता नलिएको दाबी गरेका छन् । उनले आफू जीवनमा कुनै पनि पार्टीमा आवद्ध नभएको दाबी यतिबेला गरेका छन्, जतिबेला बिल्कुल नयाँ राजनीतिक दल खोल्ने तयारीमा छन् ।
राजनीति पढेका तर, कहिल्यै नगरेका मिश्रका लागि बिगतमा राजनीतिक आबद्धता नभएको प्रमाणपत्र कत्तिको बिकाउ हुने हो ? यो प्रश्न अहिले अनुत्तरित नै छ ।
उनले आफैं राजनीतिमा आउने सोचाइ चाहिँ चार वर्षदेखि बनाएका थिए । जसका कारण अचानक राजिनामा दिएर राजनीतिमा होमिने निर्णय सुनाउँदा बीबीसीका सहकर्मीले खासै आश्चर्य मानेनन् । उनले अनलाइनखबरसँग भने- ‘मेरा सहकर्मीहरुलाई थाहा थियो, रवीन्द्र मिश्र देशलाई माया गर्ने मान्छे हो, कुनै पनि बेला देशका लागि आफ्नो व्यक्तिगत जीवन र पेशा त्याग गर्न सक्छ ।’
सुशील कोइरालाको प्रस्ताव अस्वीकार
राजनीतिमा लाग्ने वा लाग्न चाहने व्यक्तिको कुनै न कुनै महत्वाकांक्षा हुन्छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद यस्तै यस्तै । अझ मिश्र जस्ता पेशागत क्षेत्रका व्यक्तिहरुको आकांक्षा राजदूत वा यस्तै कुनै प्रतिष्ठित नियुक्ति । त्यसका लागि उनले कुनै ठूलो दलमा स्थान खोज्दा पाउन सक्थे । तर, उनले ठूला दलको प्रस्ताव कहिल्यै नमानेको दाबी गरेका छन् ।
मिश्रले भने- ‘राजदूत होइन नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य बन्नु प’रो भनेर सुशील कोइरालाले भन्नुभएको थियो । अरु पार्टीले पनि आउनुस् भनेका हुन् तर, मैले राजनीतिमा सफाइ र परिवर्तन चाहेको हो । पद र प्रतिष्ठा त मेरा लागि अहिले नै थियो नि ।’
मिश्र परिवार वामपन्थी झुकावमा चाहिँ कहिल्यै नरहेको पारिवारिक स्रोतले जनाएको छ ।