images
images

कटारी सुरक्षित आवास गृहमा ६२ जना पीडितले पाए सेवा, दुईजनालाई बीउ पूँजी सहयोग

कटारी– कटारी नगरपालिकामा सञ्चालित सुरक्षित आवास गृहमा पछिल्लो आर्थिक वर्षको ९ महिनाको अवधिमा ६२ जना लैङ्गिक हिंसाबाट पीडित व्यक्तिहरूले सेवा लिएका छन्। तीमध्ये ४२ जनाले आवास सेवा प्राप्त गरेका थिए भने १० जना बालबालिका थिए।
कटारी नगरपालिकाका उपप्रमुख गिता खड्काको अध्यक्षता तथा नगर प्रमुख राजेश चन्द्र श्रेष्ठको प्रमुख आथित्यतामा बसेको लैगिंक बिभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्यका लागि परियोजना सरोकारवालाहरु संग पैैरवी बैठकमा सेफ हाउस इन्चार्ज टोप कुमारी फुयालले प्रस्तुत गर्नु भएको प्रतिबेदन अनुसार २०८१ साल श्रावण १ गतेदेखि २०८२ साल बैशाख ३१ गतेसम्मको तथ्यांक अनुसार, मानसिक यातना, शारीरिक हिंसा, बलात्कार, बहुविवाह, तथा आधारभूत स्रोतहरूको अभाव जस्ता हिंसाका घटनाबाट प्रभावित व्यक्तिहरूले यहाँबाट परामर्श, सुरक्षा र कानुनी सहायता पाएका छन्।
घरेलु हिंसा प्रमुख समस्या, ३१ जनाले भोगे मानसिक यातना
सेवा लिएका ५२ जना पिडितहरु मध्य मानसिक यातनाका ३१ जना शारीरिक हिंसाको घटना १२ वटा, बलात्कार ३, स्रोतको अभाव ५ र बहुविवाहको एउटा घटना दर्ता भएको छ।
जातीय पृष्ठभूमिका हिसाबले सबैभन्दा धेरै पहाडी जनजाति समुदायका (१९ जना) पीडितले सेवा लिएका थिए भने अन्यमा ब्राह्मण–क्षेत्री, दलित, तराई मधेसी, र अन्य समुदायका व्यक्ति थिए ।
सेवाबाट पुनःस्थापना, दुईजनालाई बीउ पूँजी सहयोग
सुरक्षित आवास गृहबाट बाहिरिएका दुई महिलालाई आर्थिक आत्मनिर्भरता विकासका लागि बीउ पूँजी सहयोग प्रदान गरिएको छ। “सेवा मात्र होइन, दीर्घकालीन समाधानमा जोड दिएका छौं,“ सेफ हाउस इन्चार्ज टोप कुमारी फुयालले बताउनु भयो ।
पीडितहरूलाई परामर्श, स्वास्थ्य, कानुनी जानकारी, लुगा, डिग्निटी किट, यातायात सुविधा लगायतका सेवा दिइएको छ।
नयाँ जीवनको सुरुवात, आशाको अर्को नाम – सुरक्षित आवास गृह
कटारी सुरक्षित आवास गृह केवल हिंसाबाट जोगाउने ठाउँ मात्र नभएर, पीडित महिलाहरूको आत्मसम्मान, आत्मनिर्भरता र पुनःस्थापनाको आधार बन्दै गएको छ।
नगरप्रमुखको प्रतिवद्धताः “हिंसा–मुक्त नगर बनाउने संकल्प”
कटारी नगरपालिकाका नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले हिंसा–मुक्त समाज निर्माण गर्न सुरक्षित आवास गृहजस्ता सेवा र संरचना विस्तारलाई प्राथमिकतामा राखिएको बताउनु भयो ।
“हामी हिंसा–रहित, समान र सुरक्षित नगर बनाउने संकल्पमा छौं,“ नगरप्रमुखले भन्नुभयो, “महिलाहरूको अधिकार सुनिश्चित गर्न नगरपालिकाले अझ प्रभावकारी कार्यक्रम ल्याउनेछ।“

सेवा विस्तारको तयारी, नयाँ भवन बनेपछि सम्भावना बढ्यो

सुरक्षित आवास गृहको आफ्नै भवन निर्माण भइसकेको छ, जसका कारण सेवा सञ्चालन अझ व्यवस्थित र प्रभावकारी बनेको उप–प्रमुख गिता खड्काले बताउनुभयो ।
“आफ्नै भवन निर्माण भइसकेपछि सेवा विस्तारको सम्भावना बढेको छ। अब थप प्रभावितलाई समेट्ने तयारी भइरहेको छ,“ उप–प्रमुखको भनाइ छ।
लैंगिक मैत्री बजेटको मागः एविसि नेपालको आग्रह
यसै सन्दर्भमा एविसि नेपालकी बोर्ड सदस्य गीतान्जली शर्मा र प्रदेश संयोजक विष्णु शर्माले कटारी नगरप्रमुख र उप–प्रमुखसँग लैंगिक मैत्री बजेट निर्माण गर्न आग्रह गरेका छन्।
गीतान्जली शर्माले भन्नु भयो
“सुरक्षित आवास गृह जस्ता संरचनाले तत्कालीन राहत दिन्छ, तर दीर्घकालीन समाधानका लागि बजेटमै लैंगिक संवेदनशीलता समावेश हुनुपर्छ।“
प्रदेश संयोजक विष्णु शर्माले थप्नु भयो,
“महिला र बालबालिका लक्षित कार्यक्रमहरूलाई प्राथमिकता दिँदै, समावेशी नीति र बजेट बनाउनुपर्ने आवश्यकता अझ बढेको छ।“