
कटारी/ जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दुधौली नगरपालिका–४ डकाहामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयको स्वीकृति र स्थानीय तहबाट प्राप्त प्रस्तावको आधारमा सेवा प्रवाहलाई सहज बनाउन यो निर्णय गरिएको हो।
नयाँ इलाका प्रशासन कार्यालयबाट दुधौली नगरपालिकाका सबै १४ वटा वडाका साथै तिनपाटन गाउँपालिकाको वडा नं. ५, ९, १० र ११ तथा कमलामाई नगरपालिकाको वडा नं. १३ र १४ का गरी करिब एक लाख सेवाग्राहीले प्रत्यक्ष सेवा पाउनेछन्।
यद्यपि कार्यालय स्थापनाका लागि आवश्यक भवनको अभाव रहेको छ। स्थायी संरचना नहुँदा कार्यालयलाई प्रारम्भिक चरणमा भाडाको भवनमा सञ्चालन गर्नुपर्ने देखिएको छ। त्यसका लागि उपयुक्त जग्गा समेत हालसम्म नरहेकोले प्रशासनिक प्रक्रिया अगाडि बढाउन चुनौती पनि देखिएको छ।
यातायात, विद्युत् र इन्टरनेट सुविधा सुलभ भए पनि स्थायी पूर्वाधारको अभावमा सेवा प्रारम्भमा सीमित ढंगबाट प्रदान गरिने जनाइएको छ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारीद्वारा हस्ताक्षरित पत्रमा उक्त विवरण उल्लेख गर्दै मन्त्रालयलाई जानकारी गराइएको छ। अब मन्त्रालयको आवश्यक निर्णयपछि प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ।