images
images

कटारीको ९७ करोड ४६ लाखको बजेट : स्वास्थ्य, शिक्षा, पूर्वाधार र युवालाई विशेष प्राथमिकता

कटारी/उदयपुरको कटारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९७ करोड ४६ लाख ५ हजार ८५६ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, डिजिटल सुशासन तथा युवामैत्री कार्यक्रमलाई प्राथमिकतामा राख्दै नगरपालिकाले आइतबार सम्पन्न नगरसभामा नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेको हो।

कुल बजेटमध्ये १९ करोड ३९ लाख रुपैयाँ पुँजीगत२५ करोड ५१ लाख ४६ हजार ८५६ रुपैयाँ चालूतर्फ विनियोजन गरिएको छ। यससँगै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने उदयपुरका आठ स्थानीय तहमध्ये कटारी नगरपालिका पहिलो बनेको छ।

बजेटका मुख्य स्रोतमा संघीय सरकारबाट प्राप्त ससर्त तथा वित्तीय समानीकरण अनुदान, प्रदेश सरकारको अनुदान, राजस्व बाँडफाँट र आन्तरिक आम्दानी रहेका छन्। नगरपालिकाले आफ्नै स्रोतबाट चालू तथा पुँजीगत खर्चका लागि ४४ करोड ९० लाख रुपैयाँभन्दा बढी विनियोजन गरेको छ भने संघीय सरकारबाट प्राप्त हुने ससर्त अनुदान ४५ करोड १२ लाख रुपैयाँ रहेको छ।

नगरपालिकाले आगामी वर्ष युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्न ‘स्टार्ट–अप अनुदान’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। नवीन व्यवसाय सुरु गर्न इच्छुक युवालाई कार्यविधि बनाएर अनुदान उपलब्ध गराइने जनाइएको छ। साथै, सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउन सूचना प्रविधिको विस्तार तथा डिजिटल सुशासनलाई समेत प्राथमिकतामा राखिएको छ।

स्वास्थ्य सेवातर्फ हाल सञ्चालनमा रहेको आयुर्वेद सेवालाई स्तरोन्नति गरी आयुर्वेद अस्पताल को रूपमा विकास गर्ने योजना अघि सारिएको छ। वडा नम्बर ११ को गहुँबारीमा पाँच शय्याको कटारी नगर अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको प्रक्रिया पनि अघि बढाइने बजेटमा उल्लेख छ।

भौतिक पूर्वाधारतर्फ महाभारत क्षेत्रका वडा नम्बर ९, १० र १३ मा वर्षभर सञ्चालन गर्न मिल्ने सडक निर्माणका लागि संघ, प्रदेश र नगरपालिकाको समपूरक कोषमार्फत तीन करोड रुपैयाँ बराबरको योजना कार्यान्वयन गरिने भएको छ।

यस्तै, निर्माणाधीन कटारी बहुउद्देश्यीय पार्क सम्पन्न गर्न आवश्यक बजेट सुनिश्चित गरिएको छ भने कटारी बसपार्कलाई आधुनिक रूप दिने योजना पनि बजेटमा समेटिएको छ। साथै वडा नम्बर ८, ११ र १३ का अधुरा वडा कार्यालय भवन निर्माण सम्पन्न गर्न आवश्यक स्रोतको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।