उदयपूर/ उदयपूरको ताप्ली गाउँपालिकामा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । गाउँपालिकाले ५ वटै वडाका ८० बर्ष उमेर भन्दा माथिका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको हो । वडाको ओख्ले, लेखगाउँ, ईनामे, ठानागाउँ र रुपाटारका १ सय ९० जना जेष्ठ नागरिकलाई बुधबार ताप्ली गाउँपालिकाकी उपाध्यक्ष धनामाया मगर उपस्थितिमा जाडो समयलाई लक्षित गरि न्यानो कपडा वितरण गरिएको हो।
कपडा वितरण सँगै जेष्ठ नागरिको वडा स्वास्थ्य चौकीमा स्वास्थ्य परिक्षण गरिएको बताइएको छ । स्वास्थ्य परिक्षणका क्रममा स्वास्थ्यकर्मीहरुले जाडो समयमा समयानुकुल पोषिलो र स्वस्थकर खानपान सेवन गर्नु, साथै पारिवारका सदस्यहरु र आफु स्वयम न्यानो कपडा लगाउने, सरसफाईयुक्त वातावरणमा बस्न तातो तथा झोलिलो पदार्थहरु नियमित सेवन गर्न प्रेरित गरिएको स्वास्थ्य चौकी ईनामेका सिनियर अ.हे.व. लाल बहादुर दनुवारले बताउनु भएको छ । जाडो याममा घरको आर्थिक अवस्थाले गर्दा न्यानो कपडा प्रयोग गर्न समेत समस्या भोगिरहेका जेष्ठ नागरिकहरुलाई गाउँपालिकाको सानो सहयोगले उहाँहरुको जीवनस्तरमा टेवा पुग्ने हेतुले न्यानो कपडा वितरण गरिएको उपाध्यक्ष मगरले बताउनुभयो ।
साथै चिसोका कारण बृद्धबृद्धा आमाबुवाहरु दम, बाथ, रुघाखोकी, निमोनिया जस्ता विभिन्न किसिमका रोगहरुबाट ग्रसित भएको पाईएको उहाँको भनाई छ । नागरिकहरुको समस्यालाई बुझ्न ताप्ली गाउँपालिकाको स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य परिक्षण गरि जटिल अवस्थालाई सम्बन्धित स्वास्थ्य संस्थासम्म जान सल्लाह सुझाव गर्ने र सामान्य औषधिबाट स्वास्थ्य सुधार हुनसक्नेलाई तत्कालानै औषधि उपलब्ध गर्ने लक्ष्य राखिएकोमा गाउँपालिकाले जनाएको छ । प्रत्येक वडामा न्यानो कपडा वितरण गर्नका लागि सम्बन्धित वडाका वडाध्यक्ष, वडासचिव, स्वास्थ्यकर्मी र अन्य जनप्रतिनिधिहरुको समेत सहयोग रहेको थियो । न्यानो कपडा पाएपछि चिसोबाट जोगिन राहत मिलेको जेष्ठ नागरिकहरुले बताएका छन् ।


जनता भ्वाइस 








