images
images

कटारीमा जारी फुटबलमा सरस्वती मावि भोर्ले विजयी

कटारी / कटारीमा टाईगर फुटबल क्लवको आयोजनामा जारी प्रथम हरिचन्द्र साह स्मृति कप विद्यालय स्तरीय फुटबल प्रतियोगिताको आजको खेलमा सरस्वती मावि कटारी ५ भोर्ले विजयी भएको छ । भोर्लेले दुधौलीको कमलामाई ईङ्गलिस बोर्डिङ्ग स्कूललाई ० का विरुद्ध १ गोल गर्दै जित निकालेको हो ।
खेलमा भोर्लेका लागि रोहित थापाले गोल गरेका थिए । रोहित खेलको म्यान अफ द म्याच समेत घोषित भए । उनलाई समावेशी एफ एम कटारीका स्टेशन म्यानेजर सञ्जु राउतले मेडल र ट्रफी प्रदान गर्नुभयो ।
प्रतियोगिताको विजेताले नगद ३० हजारका साथमा ट्रफी , प्रमाण पत्र र मेडल हात पार्नेछन् । उपविजेताले नगद २० हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्र हात पार्ने क्लवका अध्यक्ष दिपक राईले बताउनुभयो ।
प्रतियोगितामा १४ टिमले प्रतिष्पर्धा गरिरहेको क्लबका प्रशिक्षक रोहन जोशीले जानकारी दिनुभयो । कटारी ४ का स्वर्गिय हरिचन्द्र साहको सम्झनामा छोरा देवु साहले प्रतियोगिताको प्रायोजन गर्नुभएको हो ।
प्रतियोगितामा दर्शकहरु मध्ये उत्कृष्ट प्रशंसकलाई नगद पुरस्कार पनि दैनिक प्रदान गरिंदै आएको छ ।प्रतियोगिता यहि २० भदौमा सकिनेछ । भोलि पहिलो सेमी फाईनलमा त्रिवेणी मावि कटारी र वाल मन्दिर मावि वोक्से भिड्नेछन् ।