कटारी / कटारी नगरपालिका , ३ राजावास स्थित फोहोर विर्सजन स्थल (डम्पिङ्ग साईट) मा आज बुधबार विहान फेला परेको बेवारिसे शवको पहिचान खुलेको छ । ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष राईका अनुसार उक्त शव जिल्लाकै ताप्ली गाउँपालिका वडा नम्बर १ का ५० वर्षिय कृष्णबहादुर दमाईको रहेको छ ।
दमाईको नाताले भाई पर्ने मिनबहादुर परियारले शवको आज साँझ शवको पहिचान गर्नुभएको हो । “विगत पन्ध्रवर्षदेखि घर छोडेर हिनेका रहेछन् , काठमाडौं हुँदै कटारी आईपुगेका थिएछन् ।”उपरीक्षक राईले भन्नुभयो ,“कटारी बजार आसपासमा पुराना खाली वोतलहरु टिपेर हिंड्ने गरेका रहेछन् ।”
बेवारिसे शवलाई प्रहरीले कटारी अस्पत्तालमा पोष्टमार्टमका लागि राखेको थियो । कटारी , ३ राजावासका स्थानीय देव ढुंगेलका अनुसार विहान फोहोर विर्सजनस्थलमा काम गर्ने स्थानीय पुग्दा उनको शव देखेका थिए । “गाउँको मान्छेहरुले डम्पिङ्ग साईटमा शव देखेपछी प्रहरीलाई खबर गरेका थिए ।”ढुंगेलले भन्नुभयो ,“फोहोरहरुमा रहेको कवाडी टिप्नका लागि यहाँ आउने गरेका रहेछन् ।”
दमाईको मदिरा सेवन गरी फोहोरसँगै सुतेकै अवस्थामा मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । पोष्टमार्टम पश्चात शवलाई परिवारको जिम्मा लागउने तयारी गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।