images
images

कटारीमा पनि वाम्बुले राईहरुले ढ्वाङकुम मनाए

कटारी/ किरात राई समुदायअन्तर्गत पर्ने वाम्बुले राईहरुले आफ्नो महान् चाड ढ्वाङकुम सोमबार उदयपुरमा पनि धुमधामका साथ मनाएका छन् । सोमबार वाम्बुले राई समाज (वाम्रास) उदयपुरको आयोजनामा कटारी स्थित साकेला (भूमे)थानमा शुभकामना आदान प्रदान तथा भेटघघाट कार्यक्रम गरी उनीहरुले ढ्वाङकुम मनाएका हुन् ।
समाजका अध्यक्ष ऋषि राईको सभापतित्व र समाजका केन्द्रीय सदस्य रामबहादुर राईको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम तथा सामुहिक शुभकामना आदान प्रदान लगायतका कार्यक्रम गरी उनीहरुले चाड मनाएका हुन् ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि राईले यो वाम्बुले राईहरुको महान चाड रहेको र यस चाडमा विगतमा राईहरुले वाम्बुले वस्तीमा रहेको थानमा गोरुको पुजा गरी सामुहिक रुपमा घरबाट ल्याएको कागुनीको भात खाने प्रचलन रहेको बताउनुभयो । राज्यसत्ताले गाईलाई राष्ट्रिय जनावर वनाएसँगै गोरु काट्न प्रतिवन्ध लगाईएपछी राँगा काटेर मनाउने गरीएको पनि प्रमुख अतिथि राईले बताउनुभयो ।
कार्यक्रममा उदयपुरगढी गाउँपालिका , कटारी नगरपालिका आसपासका वाम्बुले राईहरुको सहभागीता रहेको थियो । कार्यक्रमको समापन गर्दै वाम्रास उदयपुरका अध्यक्ष ऋषि राईले आगामी वर्षको ढ्वाङकुमोमा साकेला थान क्षेत्रमा ढ्वाङकुम पुज्ने थानको स्थापना गरी विधिवत पुजा समेत गरिने बताउनुभयो । खासगरी ओखलढुङ्गा र खोटाङ मूल थातथलो भएका वाम्बुले राईहरुले नयाँ अन्नबाली पितृ पुर्खा लिब्जु बाजेलाई चढाउँदै ढ्वाङकुम मनाउने गर्छन् ।
उभौलीपर्वको समापनका रुपमा पनि ढ्वाङकुम पर्वलाई लिने गरिन्छ । वाम्बुलेहरुको उद्गम थलो मानिने मानेभन्ज्याङ गाउँपालिका–३ उँबुस्थित ढ्वाङकुमटारमा राँगा काटेर सामूहिक रुपमा लिब्जुको पूजाआजा गर्दै सामूहिक रुपमा यो पर्व मनाउने चलन छ । सुरुमा एकै ठाउँमा पूजाआजा गर्ने चलन थियो ।
पछि यो समुदायको जनसङ्ख्या वृद्धि र बसाइँसराइसँगै विभिन्न जिल्लामा मनाउने गरिएको छ । उदयपुरको कटारी, सुनसरीको धरान, ललितपुरको सानो हात्तीवन, सिन्धुलीलगायत जिल्लामा वाम्बुले समुदायले सामूहिक रुपमा पूजाआजा गर्दै नाचगान गरेर यो पर्व मनाउने गरेका छन् ।