images
images

विश्व आदिवासी दिवश कटारीमा धुमधामका साथ मनाईयो , उत्पीडितलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा मेयर श्रेष्ठको जोड

कटारी / अगष्ट ९ तारिकका दिन विश्वभर मनाईने विश्व आदिवासी दिवश कटारीमा पनि आज शुक्रबार धुमधामका साथ मनाईएको छ । आज नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद कटारीको आयोजनामा धुमधामका साथ दिवश मनाईएको हो ।
परिषदका अध्यक्ष डिकबहादुर श्रेष्ठका अनुसार विभिन्न जातजातिहरुको झाँकी सहित कटारी बजार परिक्रमा गरी आदिवासी जनजाति हलमा औपचारिक कायृक्रम गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले आदिवासी जनजाति , दलित , उत्पिडित , सिमान्तकृत समुदायलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभयो ।
त्यसैगरी कटारी नगरपालिकाले परिषदको भवन निर्माणका लागि बजेट छुट्टाएको स्मरण गराउँदै भवन निर्माण सम्पन्न गर्ने बजेट नगरपालिकाले उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो । शिक्षामा जोड दिनुपर्ने बताउँदै मेयर श्रेष्ठले कटारीका जातिजातिहरुको होमस्टे संञ्चालनका लागि कार्यक्रम लिएर आए नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
त्यसैगरी विशेष अतिथि नगरपालिकाका उपमेयर गिता खड्काले पनि हालसम्म आदिवासी जनजातिहरुले जीविकोपार्जन लगायतका कार्यक्रमहरु लिएर नआएको बताउँदै लिएर आए नगरले साथ दिने बताउनुभयो । संयौ थुंगा फुलका हामी नेपाली भनिएजस्तै नेपालको सौन्दर्यता यसैमा रहेको बताउनुभयो ।
त्यस्तै विशेष अतिथि वुद्धिजिवी कुमारसिंह राईले मानवीय विकास नभएसम्म भौतिक विकासले मात्र समृद्धि नआउने बताउनुभयो । नीति बनाउँदा आदिवासी जनजातिहरुको हितमा बनाउनुपर्ने राईको भनाई थियो ।
संविधान प्रद्धत अधिकार आदिवासीहरुको विशेष क्षेत्र र स्वायत्त क्षेत्र कार्यन्वयन गर , प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागु गर भन्ने नाराका साथ दिवश मनाईएको हो । दिवशको अवसरमा महासंघका अध्यक्ष डिकबहादुर श्रेष्ठले प्रमुख अतिथि मेयरलाई विभिन्न मागहरु सहित ज्ञापन पत्र बुझाउनुभएको थियो । आदिवासी जनजाति महासंघको कार्यक्रमलाई पनि नीति तथा कार्यक्रममा राख्न ज्ञापन पत्रमा माग गरिएको थियो । कार्यक्रमको अवसरमा कार्यक्रममा सहभागी भातृ संगठनहरुलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो ।
विश्व आदिवासी दिवस प्रत्येक वर्ष अगस्त महिनाको ९ तारिखमा मनाइन्छ । संयुक्त राष्ट्र सङ्घले सन् १९९३लाई विश्व आदिवासी वर्षका रूपमा घोषित गरेपछि सोही वर्षदेखि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो ।