images
images

नगरपालिकाको निशुल्क ग्रेडवृद्धि तयारी कक्षासँगै विद्यार्थीसँग थप रकम लिएर पढाउँदै जनता कालिका मावि

कटारी/ कटारी नगरपालिकाले एसईईको ग्रेडवृद्धि परीक्षामा तयारी गर्नका लागि असार २३ मा सूचना जारी गरेर निशुल्क तयारी कक्षाको व्यवस्था गरेको थियो । सात विद्यालयका केन्द्रमा विद्यार्थीहरुलाई निशुल्क तयारी कक्षा लिन जानकारी गराएको थियो ।
सम्बन्धित विषयका शिक्षकहरुलाई नगरपालिकाले पारिश्रमिक दिनेगरी गणित अंग्रेजी र विज्ञान विषयको अतिरिक्त कक्षाको व्यवस्था गरेको थियो । तर यो व्यवस्थासँगै कटारी नगरपालिका वडा नम्बर १० स्थित जनता कालिका मावि सोरुङ्गले विद्यार्थीहरुसँग थप अतिरिक्त रकम लिएको खुलासा भएको छ ।
वडाध्यक्ष क्षेत्रबहादुर खड्काले शिक्षकहरुले अतिरिक्त रकम लिएको सुन्नका आएकाले यस विषयमा छलफल गरिने बताउनुभयो । विद्यालय व्यवस्थापन समिति , अभिभावकहरु र शिक्षकहरुसँग छलफल गर्ने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक शंकर कुमार श्रेष्ठले रकम लिएको स्विकार गर्दै उक्त रकम थप अतिरिक्त कक्षा पढाएवापत अभिभावक र विद्यार्थीहरुसँगको छलफलबाट लिएको बताउनुभयो । प्रधानाध्यापक श्रेष्ठका अनुसार विद्यार्थीहरु र अभिभावकहरुको छलफलबाट शिक्षकहरुले असार १४ नै दैनिक दुईदुई घण्टा पढाउन सुरु गरिएको थियो ।
पछि नगरपालिकाले असार २३ मा जारी सूचना जारीगरेपछी विद्यार्थीहरुलाई सूचना बमोजिम निशुल्क पढ्न आग्रह गरेपनि विद्यार्थीहरुले नगरपालिकाको निशुल्क कक्षाको ४५ मिनेटको घण्टीसँगै थप दैनिक दुईघण्टा पढ्ने भनेपछी रकम लिएर पढाईएको हो । प्रधानाध्यापक श्रेष्ठका अनुसार शनिवार र सार्वजनिक विदामा पनि नियमित पढाईएको थियो ।
२८ जना गणित र २० जनालाई अंग्रेजी विषय पढाईएको हो । यो त्यहि विलालयको हो जसले गएको एसईई परीक्षामा ५३ जनालाई सहभागी गराएपनि एकजना पनि उत्तीर्ण भएनन् । कटारी नगरपालिकाको २० विद्यालयमा शुन्य नतिजा अर्थात निल गएको दुई विद्यालयमा यो विद्यालयसँगै मावि खसिबास कटारी १ रहेको थियो ।
हेर्नवाँकी अव यो छ की नगरपालिकाको निशुल्क कक्षा र अतिरिक्त पढाएर प्रतिविद्यार्थी एकहजार दुईसय पचास लिएर गरेको तयारीबाट नतिजा कस्तो आउनेछ । एसईईको ग्रेडवृद्धि परिक्षा यहि साउन २३ बाट हुँदैछ ।