कटारी /चारदशक अघि जिल्ला विकास समिति उदयपुले कटारी बजारमा टाउन प्लानिङ्ग गरी १ सय ४ वटा घडेरी विक्री गरेको थियो । तर अहिलेसम्म पनि जिविसको घडेरी किनेका जग्गा दाताहरुले लालपुर्जा पाउन सकेका छैनन् ।
लालपुर्जा पाउनका लागि दबाव दिन आज उदयपुर उद्योग वाणिज्य संघको हलमा संघका अध्यक्ष जमानसिंह वस्नेतको अध्यक्षतामा वसेको भेलाले ९ सदस्यि समिति गठन गरेको छ । समितिको संयोजकमा अध्यक्ष वस्नेत र सदस्यहरुमा प्रयास कार्की , पुष्कर खड्का , राजदेव चौधरी , दिनेश्वर साह , अस्मित पौडेल , सुरेन्द्र प्रसाद जयसवाल , समिम खाँ र राजकुमार वुढाथोकी रहेका छन् ।
समितिले लालपुर्जा प्राप्तिका लागि सम्बन्धित निकायमा डेलिगेसन जाने , मागहरु राख्ने र लालपुर्जा पाउनका लागि गर्नुपर्ने प्रकृयाहरु अघि बढाउन सहजिकरण गर्ने संयोजक वस्नेतले बताउनुभयो । लामो समय लालपुर्जा नपाएका जग्गाधनीहरुले वर्षेनी जिविसहुँदै जिल्ला समन्वयमा कर तिर्दै आएका थिए ।
घडेरी विक्री वितरणमा पनि जिविसले नामसारी गरिदिने गरेको थियो । तर यसवर्षदेखि जिससले कर पनि लिन छोडेपछी जग्गाधनीहरु समस्या परेका छन् । वैंकिंङ्ग कारोबार लगायतका सवै जग्गासम्बन्धि कारोबार उनीहरुले गर्न पाएका छैनन् ।
केन्द्र , प्रदेश र स्थानीय सरकारले मात्रै कर लिन पाउनेभएपछि जिसस पछि हटेको हो । जिविसले विक्री गरेको जग्गाको समस्या कटारीमा मात्रै होईन, त्रियुगा र रौतामाईमा पनि रहेको छ ।
समस्या समाधानका लागि जिल्ला स्तरीय संघर्ष समिति भीमचन्द्र राईको संयोजकत्वमा गठन भएको छ । समितिले जिल्ला भरका समस्याहरु लिएर प्रधानमन्त्री केपी शर्मा ओली समक्ष डेलिगेसन जाने तयारी गरिरहेको जिल्ला स्तरीय समितिका सह संयोजक प्रकाश थापाले बताउनुभयो । जिल्ला विकासले २०२८ सालमा विक्री गरेको जग्गाको लालपुर्जा अहिलेसम्म पनि नदिएपछी समस्या बढ्दै गएको छ ।


जनता भ्वाइस 








