
कटारी / कटारी नगरपालिकाले एसईई ग्रेडवृद्धि परीक्षाको लागि निशुल्क तयारी कक्षा संञ्चालन गरेको छ । २०८० को एसईई परीक्षामा सहभागी भई अनुतिर्ण भएका विद्यार्थीहरुलाई लक्षित गर्दै नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई निशुल्क ग्रेड वृद्धि तयारी कक्षा संञ्चालन गरेको हो ।
अंग्रेजी , गणित र विज्ञान विषयमा अनुत्तीर्ण भएका विद्यार्थीहरुका लागि नगरपालिकाका ७ विद्यालयमा केन्द्र तोकेर तयारी कक्षा संञ्चालन गरिएको कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले बताउनुभयो । “ग्रेडवृद्धि गर्ने अवसरमा राम्रो नतिजा ल्याउन सकुन भनेर कक्षा संञ्चालन गरेका हौं”मेयर श्रेष्ठले भन्नुभयो ,“विषयसँग सम्बन्धित शिक्षकहरुले पढाउने गरी तयारी कक्षाको व्यवस्थापन गरिएको हो ।”
सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई अतिरिक्त कक्षाका लागि शुल्क तिर्नु नपरोस भनेर निशुल्क कक्षाको व्यवस्था गरिएको पनि मेयर श्रेष्ठले बताउनुभयो । नगरपालिकाले त्रिवेणी मावि कटारी –४,जनता मावि गुराँसे कटारी–२,मावि कालीखोला कटारी –१ ,जनता कालिका मावि कटारी –१० , जनप्रेमी मावि कटारी–७ र जनमुखी मावि कटारी–१२ गरी ७ केन्द्रमा अंग्रेजी , विज्ञान र गणित विषयको विषय शिक्षकहरुले निशुल्क कक्षामा पढाउने व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले बताउनुभयो ।
एसईईको नतिजा खस्किएपछी नगरपालिकाको शिक्षा शाखाले केन्द्र तोकेर निशुल्क तयारी कक्षा संञ्चालन गरेको हो । नगरपालिका भित्रका २० सामुदायिक विद्यालयका ७ सय ९६ जनाले एसईई दिएका थिए । एसईई दिएकामध्ये २ सय ४९ अर्थात ३१ दशमलव ३२ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए ।
परीक्षामा सहभागी भएका मध्ये मावि खसिबास कटारी –१ र मावि सोरुङ्ग कटारी–१० को नतिजा शून्य रहेको छ । त्यसैगरी मावि भूल्के कटारी–५ बाट परीक्षामा सहभागी भएका ३७ विद्यार्थी मध्ये एकजना मात्रै उत्तीर्ण भएका थिए ।
निशुल्क तयारी कक्षा पढ्न पाएपछी विद्यार्थीहरुलाई महँगो शुल्क तिरेर पढ्नुपर्न वाध्यता हटेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार आगामी साउन २३ देखि ३१ सम्म ग्रेडवृद्धि परीक्षा संञ्चालन हुनेछ ।