कटारी / आज मुस्लिम समुदायकाे दाेस्राे ठुलाे चाड बकर ईद कटारीमा पनि मनाईदैंछ । विहानै कटारी , ३ स्थित नवनिर्मित कब्रिस्थानमा सामुहिक रूपमा नमाज पढेर कटारीका मुस्लिमहरूले ईद मनाएका हुन् । आज ईदकै अवसर पारेर उनीहरूले कब्रिस्थानकाे पनि उदघाटन गरेका छन् । कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले कब्रिस्थानकाे उदघाटन गर्नुभयाे । उदघाटन गर्दै ईदकाे शुभकामना दिंदै मेयर श्रेष्ठले सवै समुदायकाे विकासका लागि नगर प्रतिवद्ध रहेकाे बताउनुभयाे ।कटारी नगरपालिका , ३ स्थित सामुदायिक वन क्षेत्रमा मुस्लिम समुदायले मृत्युपछी दाहसंस्कार गर्ने स्थान (कब्रिस्थान) निर्माण गरेका छन् । कटारी बजारमा मुश्लिम समुदायले वसोबास गर्न थालेको पैंतिस वर्षपछी उनीहरुले यहाँ चिहान क्षेत्र बनाएका हुन् ।
मुस्लिम समुदायलाई दाहसंस्कार क्षेत्र बनाउन कटारी नगरपालिकाले पहिलो पटक २ लाख ५० हजार बजेट विनियोजन गरेको थियो । ‘नगरपालिकाको बजेट र जनसहभागितामा कब्रिस्थान बनाएका हौं ।’कब्रिस्थान घेराबेरा तथा गेट निर्माण उपभोक्ता समितिका अध्यक्ष दुलारे खाँले भन्नुभयो ,‘यस क्षेत्र भित्र हामीले आफु आफुले रकम सहयोग संकलन गरी दाहसंस्कारमा नमाज पढ्ने ठाउँ पनि बनाएका छौं ।’
कटारीमा २०४५ सालतिर तराई क्षेत्रबाट मुस्लिम समुदाय व्यापारका लागि आएका थिए । ‘हामीलाई बाऊ बाजेले यता ल्याएका हुन् ,’अध्यक्ष खाँले भन्नुभयो,‘अहिले कटारीमा डेढसय बढी परिवार मुस्लिमको छौं होला ।’
नगरपालिकाकाको बजेटबाट सुरु गरिएको क्षेत्रमा उनीहरु आपैmले नमाज पढ्ने स्थान बनाएका छन् । २०७८ को जनगणना अनुसार कटारी नगरपालिकाको जनसंख्या ५९ हजार ५ सय ७ रहेको छ । जसमा मुस्लिम धर्मावलम्बीहरुको जनसंख्या ० दशमलव ७ प्रतिशत अर्थात ४ सय १७ जना मात्रै रहेका छन् ।