images
images

उदयपुरमा पनि स्वास्थ्य बिमा दर्ता सहयोगीहरु आन्दोलित

गाईघाट/ नेपाली नागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा शुरुवात भएको कार्यक्रमको मुख्य भुमिकामा रहेका बिमा दर्ता सहयोगी यतिबेला उदयपुर सहित देशभर आफ्ना विभिन्न माग राख्दै आन्दोलित भएका हुन ।
दर्ता सहयोगीले पाउदै आएको १०% प्रोत्साहन रकमलाई बढाएर कम्तीमा २०% बनाउनुपर्ने, प्रोत्साहन रकममा १५% करकट्टी गरेर दर्ता सहयोगीको मनोबल गिराई निरुत्साहित बनाउने काम हुन लागेकाले करकट्टी रकम १% नै कायम गर्नुपर्ने, दर्ता सहयोगिलाई पोशाक र मसलन्द सामानको ब्यबस्था गरिनु पर्ने, दर्ता सहयोगीले पाउने प्रोत्साहन रकम समयमै पाउनु पर्ने र अनलाईन नविकरणको प्रोत्साहन रकमको हकदार समेत दर्ता सहयोगी हुनुपर्ने लगाएत माग राख्दै उदयपुरका दर्ता सहयोगीले स्वास्थ्य बीमा दर्ता सहयोगी संघर्ष समितिमार्फत् ज्ञापन पत्र बुझाएका छन्।
ज्ञापन पत्रका मागहरु सम्बोधन नभएमा वा बेवास्ता गरिएमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने संघर्ष समितीले जनाएको छ । जिल्लाभर रहेका ७५ वडाका दर्ता सहयोगीको प्रतिनिधिमुलक सहभागितामा उदयपुरका स्वास्थ्य बिमा दर्ता सहयोगी मार्फत स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनी र कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई हिजो ज्ञापनपत्र पठाएका हुन् ।
दर्ता सहयोगीले स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेश कार्यालय र जिल्ला सम्पर्क कार्यालयलाई समेत बोधार्थ ज्ञापनपत्र बुझाएको कटारी नगरपालिका वडा नम्बर १२ का दर्ता सहयागी दिलराम बरालले बताउनुभयो ।