images
images

लोपोन्मुख प्रजातिको घाईते सालकको उद्धार

कटारी / कटारी नगरपालिका वडा नम्बर ११ सल्लेरीमा मंगलबार लोपोन्मुख प्रजातिको सालक फेला परेको छ । कुकुरले टोकेर घाईते बनाएको अवस्थामा फेला परेको सालकलाई उद्धार गरी डिभिजन वन कार्यालय कटारी (त्रिवेणी)लाई जिम्मा दिएको स्थानीय सुमन सुनुवारले बताउनुभयो ।
सुनुवारका अनुसार कुकुर भुकेको आवाज आएपछी हेर्दा सालक पाएपछी स्थानीयले नियन्त्रणमा लिएर सामान्य घरेलु उपचार गरेका थिए । “कुकुर गर्जिएको सुनेपछी हेर्न जाँदा सालक रहेछ हामीले पक्रेर उपचार गरेका हौं । ”सुनुवारले भन्नुभयो , “त्यसपछी वन कार्यालयको मान्छेलाई जिम्मा लगायौं ।”
फेला परेको सालक भारतीय प्रजातिको भएको डिभिजन वन कार्यालय कटारी (त्रिवेणी)का प्रमुख डिभिजन वन अधिकृत अनिरुद्ध साहले बताउनुभयो । “स्थानीयको जानकारी पश्चात हाम्रो टोलीले उद्धार र उपचार गरेर संरक्षित क्षेत्रमा छोडेका छौं ।”अधिकृत साहले भन्नुभयो , “सालक नेपालको संरक्षित जन्तुमा पर्दछ ।”
अधिकृत साहका अनुसार नेपालमा भारितय र चाईनिज गरी दुई प्रजातिको लोपोन्मुख साल पाईन्छ । कार्यालयले उद्धारपश्चात कटारीकै वडा नम्बर ५ मा रहेको सिसाघारी सिमसारसँगै रहेको संरक्षित क्षेत्रमा सालकलाई राखिएको सिसाघारी सामुदायिक वन उपभोक्ता समूहका सचिव दिलबहादुर अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार उक्त संरक्षित क्षेत्रमा यसअघि घाईते अवस्थामा फेला परेर वन कार्यालयले उपचार गरेका निलगाई , मृग समेत राखिएको छ ।
लोपोन्मुख प्रजाति मानिने सालकको अवैध सिकारसमेत हुने गरेको छ । सिकारी र तस्करहरुले समेत मार्ने गरेकाले सालक पाउन छाडेको कटारी ११ का स्थानीय सुमन सुनवारले बताउनुभयो । यो सालक पाईको क्षेत्र महाभारत शृंखलाको पहाडी क्षेत्र हो ।
कटारी नगरपालिकाको भित्रि मधेस क्षेत्रको चुरे वनमा समेत सालक पाउने गरिएको अहिले लोप हुँदै गएको स्थानीय बताउँछन् । सालकलाई मासु र त्यसको खपटाबाट क्यान्सर तथा दमको रोग निको हुने विश्वास गरिने भएकाले त्यसको बढी शिकार गर्ने गरेको पाइन्छ । यस प्रकारको प्रजाति समुद्र सतहदेखि एक हजारदेखि दुई हजार २०० मिटरसम्मको उचाइमा पाईने गरेको पनि डिभिजन अधिकृत साहले बताउनुभयो ।