कटारी / कटारी नगरपालिका अन्र्तगत पर्ने चुरे बनक्षेत्रमा चोरी सिकारी बढेको छ । कटारी नगरपालिकाको दक्षिणी भेगमा रहेको नगरपालिकाको वडा नम्बर १ , २ , ३ , ५ र ६ को सामुदायिक वन र सरकारी वन रहेको चुरे भेगमा चोरी सिकारी बढेको हो ।
यस वन क्षेत्रमा दैनिक सिकारीहरुले निलगाई , बँदेल , मृग , मयुर , कालिज , धनेस जस्ता वन्यजन्तु र पंक्षीहरु सिकार गर्ने गरेको कटारी , ३ का स्थानीय डबबहादुर परियारले बताउनुभयो । ‘वीसनाल जति भरुवा वन्दुक लिएर वनमा सिकारीहरु आउने गर्छन् ,’परियारले भन्नुभयो , ‘पानी पर्न थालेपछी जन्तुहरुको पाईला हेरेर सिकार गर्न सजिलो हुने रहेछ त्यसैले अहिले वन भरी सिकारीहरु छन् ।’
चुरे बनमा डढेलो लगाउने पनि सिकारीहरु नै रहेको परियारले बताउनुभयो । ‘आगो लगाएपछी सिकार खेल्न सजिलो हुन्छ । ’उहाँले भन्नुभयो , ‘दैनिक बनमा वन्दुक पड्केको आवाज आउँछ , घाँसे गोठालेहरुले सिकारीहरु भेट्दा रहेछन् ।’
सिकार खेल्नका लागि कटारी नगरपालिकाकै चुरे वन भित्र रहेको वडा नम्बर १ को खसिबास , एक्लेसल्ला र सिरहा जिल्लाको गोलबजार नगरपालिका अन्र्तगतको चुरे किनारका वस्तीहरुबाट सिकारीहरु आउने गरेको स्थानीय बताउँछन् । ‘सबैजना भरुवा वन्दुक लिएर कटारीको सामुदायिक वन रहेको गाउँ नजिकसम्म सिकार खेल्न आउँछन् ।’ कटारी , ३ च्याँगाका लवकुश माझीले भन्नुभयो , ‘घर छेउ छेउमा आउन वँदेल , दुम्सी , खरायो , मृग,निल गाई मासि नै सके ।’
चुरे वन क्षेत्रमा चोरी सिकारीले तर्साएपछी गाउँगाउँगमा वाँचेका वन्यजन्तुहरु आईपुगेको कटारी ५ का शलेस सामुदायिक वन उपभोक्ता समूहका पूर्व सचिव डिकबहादुर श्रेष्ठले बताउनुभयो । ‘पहिला पहिला चुरेमा वस्ने वन्यजन्तु गाउँमा देखिन थालेका छन् ।’उहाँले भन्नुभयो , ‘गाउँमा कृषि उत्पादनमा पनि क्षति पुराउन थालेका छन् ।’
श्रेष्ठका अनुसार समूहले स्थानीय जाल खेल्ने सिकारीहरुलाई भने प्रतिवन्ध लगाएको छ । वनमा चोरी सिकारी वढ्ने मौसम रहेकाले दैनिक वनगस्ति खटाएको डिभिजन वन कार्यालय कटारी (त्रिवेणी)का प्रमुख डिभिजन वन अधिकृत अनिरुद्ध साहले बताउनुभयो । ‘दैनिक गस्ति खटाएका छौं , प्रहरीहरुसँग पनि समन्वय गरीरहेका छौं , अनुमति विनाका भरुवा वन्दुक नियन्त्रणमा लिन र बुझाउन अनुरोध गर्ने तयारीमा छौं ’ अधिकृत साहले भन्नुभयो ,‘वन्यजन्तु अनुसार सिकारीहरुलाई फरक फरक सजायको व्यवस्था गरिएको छ , वन समूहहरुलाई पक्राउका लागि सहयोगको अनुरोध गर्दछु ।’
वन्यजन्तु र पंक्षीको सिकारीहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण सम्बन्धि कार्वाही हुने पनि अधिकृत साहले बताउनुभयो । साहका अनुसार यस क्षेत्रमा संरक्षित पंक्षीमा ठुला धनेस , हात्तीहरु आउने गर्छन । यस क्षेत्रको वनमा ठूलो रुखहरु मासिएसँगै पंक्षीहरु समेत मासिन थालेका छन् ।
डेढदशक अघिसम्म यस क्षेत्रमा प्रशस्त पाईने कर्रा , कागभेला जातको मानिसहरुले पाल्ने र वोल्ने प्रजातिको सुगा समेत अहिले नभेटिने कटारी , ३ का लबकुश माझीले बताउनुभयो । माझीका अनुसार अहिले वनमा धनेस, सुगाहरु रुखहरु मासिनु , सिकारी वढ्नु , डढेलो लाग्नुका कारण पाउन छाडिएको छ । सिकारीहरुले कटारी र सिरहाको सिमाना रहेको चुरिया मन्दिरदेखि पूर्व , उदयपुरगढी गाउँपालिकाको नेपालटारको पश्चिमी सिरहादेखि उत्तरको वन क्षेत्रमा दैनिक वीस थान बढी भरुवा वन्दुक सहित सिकार गर्ने गरेको स्थानीयहरु बताउँछन् ।


जनता भ्वाइस 








