images
images

कटारीमा मुस्लिम समुदायले बनाए ‘कब्रिस्थान’

कटारी/ कटारी नगरपालिका , ३ स्थित सामुदायिक वन क्षेत्रमा मुस्लिम समुदायले मृत्युपछी दाहसंस्कार गर्ने स्थान (कब्रिस्थान) निर्माण गरेका छन् । कटारी बजारमा मुश्लिम समुदायले वसोबास गर्न थालेको पैंतिस वर्षपछी उनीहरुले यहाँ चिहान क्षेत्र बनाएका हुन् ।
मुस्लिम समुदायलाई दाहसंस्कार क्षेत्र बनाउन कटारी नगरपालिकाले पहिलो पटक २ लाख ५० हजार बजेट विनियोजन गरेको थियो । ‘नगरपालिकाको बजेट र जनसहभागितामा कब्रिस्थान बनाएका हौं ।’कब्रिस्थान घेराबेरा तथा गेट निर्माण उपभोक्ता समितिका अध्यक्ष दुलारे खाँले भन्नुभयो ,‘यस क्षेत्र भित्र हामीले आफु आफुले रकम सहयोग संकलन गरी दाहसंस्कारमा नमाज पढ्ने ठाउँ पनि बनाएका छौं ।’
कटारीमा २०४५ सालतिर तराई क्षेत्रबाट मुस्लिम समुदाय व्यापारका लागि आएका थिए । ‘हामीलाई बाऊ बाजेले यता ल्याएका हुन् ,’अध्यक्ष खाँले भन्नुभयो,‘अहिले कटारीमा डेढसय बढी परिवार मुस्लिमको छौं होला ।’
मुस्लिम समुदायले दासंस्कार गर्ने वेला नमाज पढ्ने प्रचलन छ । नमाज पढ्ने र दाहसंस्कार गर्ने ठाउँ नहुँदा उनीहरुलाई समस्या थियो । ‘कहाँ दाहसंस्कार गर्ने भन्ने समस्याका वीच विभिन्न ठाउँहरुमा गर्दै थियौं ।’समितिका सचिव मो.गुलजार आलमले भन्नुभयो ,‘केहि वर्षदेखि यसै क्षेत्रलाई कब्रिस्थान बनाएका थियौं ,’
नगरपालिकाकाको बजेटबाट सुरु गरिएको क्षेत्रमा उनीहरु आपैmले नमाज पढ्ने स्थान बनाएका छन् । २०७८ को जनगणना अनुसार कटारी नगरपालिकाको जनसंख्या ५९ हजार ५ सय ७ रहेको छ । जसमा मुस्लिम धर्मावलम्बीहरुको जनसंख्या ० दशमलव ७ प्रतिशत अर्थात ४ सय १७ जना मात्रै रहेका छन् ।किरात राईहरुको साकेला थान , मगर समुदायको वुद्धस्थल , सुनुवारहरुको चण्डीथानसँगै मुस्लिम समुदायको चिहानस्थल सँगै वन्नुले कटारीमा धार्मिक सहिष्णुता एकदमै राम्रो रहेको देखिन्छ ।