
कटारी / मंगल परोपकार आधारभूत विद्यालय कटारी , ३ बलियाका ६० जना विपन्न विद्यार्थीहरुलाई आज निशुल्क पोशाक , जुत्ता , मोजा र झोला वितरण गरिएको छ । नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड कोशी प्रदेशले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उनीहरुलाई एक कार्यक्रमकावीच आज यी सामाग्रीहरु वितरण गरेको हो ।
लिमिटेडका कोशी प्रदेश प्रमुख अमरेन्द्र कर्णको प्रमुख आतिथ्यता र कटारी नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठको विशेष आतिथ्यतामा उक्त सामाग्रीहरु वितरण गरिएको हो । वालवालिकाहरुलाई पोशाक तथा पाठ्यपुस्तक वितरण गर्दै कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले आगामी दिनमा विद्यार्थी संख्या बढाए कक्षा पाँच सम्मको अनुमति दिने बताउनुभयो ।
त्यसैगरी आसपासमा वारीपारी विद्यालय रहेको अवस्थामा विद्यालयका अनुमति दिने चुनौती ठुलो रहेपनि अनुमति दिएको बताउनुभयो । व्यवहारिक र भावानात्मक पाटोलाई ध्यानमा राखेर अनुमति दिएको मेयर श्रेष्ठको भनाई थियो ।
त्यसैगरी वडाध्यक्ष पुष्कर खड्काले यस विद्यालयलाई वडाले गर्ने सहयोग जारी राख्ने बताउनुभयो । हाल कक्षा १ सम्म संञ्चालित विद्यालयमा अधिकाँस विपन्न , दलित तथा जनजाति विद्यार्थीहरुले निशुल्क अध्ययन गर्दै आएको प्रधानाध्यापक ओमप्रसाद ढुंगेलले बताउनुभयो ।५ वर्ष अघि श्री कृष्ण प्रणामी मन्दीर वलियाको सहकार्यमा वृद्धाश्रमसँगै वालवालिकाहरुलाई निशुल्क अध्ययनका लागि विद्यालयको स्थापना गरिएको मन्दीर व्यवस्थापनका सीता खत्रीले बताउनुभयो ।
एकलाख २५ हजार बराबरको सामाग्री वितरण कार्यक्रममा श्री कृष्ण प्रणामी प्रतिष्ठानका अध्यक्ष गुरुजी श्री १०८ कृष्ण महाराज , लिमिटेडका ईटहरी शाखा प्रमुख कैलाश अधिकारी , गाईघाट शाखा प्रमुख कमल कटुवाल , कटारी शाखा प्रमुख दिपेश निरौला लगायतका उपस्थिति रहेको विद्यालयका शिक्षक अनिल खत्रीले जानकारी दिनुभयो ।