images
images

रुस–युक्रेन युद्धमा कटारीका एकजनाको मृत्यु, कुशको शव बनाएर दाहसंस्कार

कटारी /रुसी सेनामा भर्ना भएका उदयपुरको कटारी नगरपालिका वडा नम्बर ५ भुल्केका ३८ वर्षिय ओमबहादुर मगरको मृत्यु भएको खबर पाएपछि उनका परिवारका सदस्यहरूले कुशको शव बनाएर अन्त्येष्टि गरेका छन् । वडाध्यक्ष मोहन तामाङ्गका अनुसार परिवारका सदस्य र आफन्तहरूले स्थानीय घाटमा बुधबार मगरको अन्त्येष्टि गरी अहिले परम्परा अनुसार कुरी वसेका छन् ।
६ महिना अघि रुसी सेनामा भर्ना भएका मगरको वैशाख २२ गते शनिबार बंकरभित्र विष्फोट भएर मृत्यु भएको खबर उनका साथीहरुमार्फत घरका सदस्यहरूले मंगलबार राति मात्रै पाएको वडाध्यक्ष तामाङ्गले बताए । ‘सँगै सेनामा रहेका सुर्खेतका विक्रम सुनुवार भन्ने साथीले म्यासेज गरेर परिवारलाई जानकारी दिएका रे ,’उनले भने ,‘क्षतविक्षत अवस्थामा शव रुसी सेनाको साथमै रहेको खबर प्राप्त भएको छ ।’
मगर पूर्व नेपाली सेनाका जागिरे थिए । उनको ३ छोरी र १४ महिने एक छोरा छन् ।‘जानेबेला जोखिम हुन्न तालिमहरु दिने हो भनेर गएका थिए ।’मगरका श्रीमति विन्दु मगरले भनिन् ,‘विस्तारै युद्धमा पठाएको भन्दै थिए , भागेर भएपनि आउने प्रयास गर्न लगाएका थियौं ।’श्रीमति विन्दुका अनुसार केहि दिनदेखि सम्पर्क विहिन भएका थिए ।
एक्कासीसँगैका साथीहरुले मृत्युको खबर सुनाएपछी अन्त्येष्टि गरिएको श्रीमति विन्दुले बताईन् । वैशाख महिनामै सकिने गरी अहिले परम्परा अनुसार मृत्युसंस्कारको काम भईरहेको पनि श्रीमति विन्दुले बताईन् ।
घटनापश्चात साथीहरुले घरमा खबर समेत भन्न गाह्रो मानेकाले ढिलो खबर पाएको परिवारका सदस्यहरु बताउँछन् । नेपाल सरकारबाट भने मगरको मृत्युको कुनै पुष्टि अभैm नभएको वडाध्यक्ष तामाङ्गले बताए । रुसी सेनामा भर्ना भएको भन्ने खबर पाएको केहि महिनामै मगरको मृत्यु भएपछी अहिले गाउँनै शोकमा डुबेको पनि तामाङ्गले बताए ।