कटारी /सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी–घुर्मी ७२ किमिको सिद्धिचरण राजमार्ग स्तरउन्नतीका लागि सरोकारवालाहरु एक भएर दबाब दिन तयार भएका छन् । आज (शनिबार) उदयपुरको कटारीमा उदयपुर उद्योग वाणिज्य संघले आयोजना गरेको मिर्चैया–कटारी–घुर्मी सडक स्तरउन्नती सम्बन्धि अन्तरकृयामा सहभागी सरोकारवालाहरुले जीर्ण सडकखण्ड स्तरउन्नतीका लागि केन्द्र सरकारलाई दबाब दिन सहमत भएका हुन् ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि उदयपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अम्बरबहादुर रायमाझीले यस सडकलाई स्तरउन्नती गर्न आफुसँधै दबाबका लागि तयार रहेको बताए । ‘के के गर्नुपर्छ सदनदेखि सडकसम्म म तपाईहरुको साथमा रहनेछु ।’उनले भने , ‘निर्वाचित भएर पहिलो पटक सदनमा कुरा राख्दा नै मैले यो सडकको बारेमा बोलेको थिएँ ।’
निर्माणको तीनदशक बढी वितिसक्दा पनि स्तरउन्नती नभई जीर्ण भएको यस सडकखण्डका कारण व्यापारी व्यवसायीहरु ठुलो मारमा परेको बताउँदै संघले दबाबमुलक कार्यक्रम निर्माण गर्न अन्तरकृयाको आयोजना गरेको संघका अध्यक्ष जमानसिंह वस्नेतले बताए । ‘आगामी बजेटमा पनि सरकारले यसलाई सम्बोधन नगरे हामी विरोधका कार्यक्रमहरु सार्वजनिक गर्छौं ।’उनले भने ,‘पटक पटक डेलिगेसन गएका छौं फेरी डेलिगेसन जान्छौं सुनुवाई नभए संघर्षका कार्यक्रमहरु गर्छौं ।’
कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले यो सडक केन्द्र सरकारको मातहतमा भएपनि स्थानीय तहल गर्नुपर्ने सवै पहलहरु गरिरहेको बताए । ‘पटक पटक अर्थमन्त्री समक्ष मागहरु पेश गरेका छौं ।’मेयर श्रेष्ठले भने , ‘स्थानीय तहले आप्mनो तर्पmबाट गर्नुपर्ने कामका लागि हात झिकेका छैनौं ।’
त्यस्तै कोशी प्रदेशका पूर्व मन्त्री कला घलेले यस सडक जीर्णहुँदा कटारीका स्थानीयले जनजीवन प्रभावित भएको बताईन् । त्यसैगरी कटारी नगरपालिकाका उपमेयर गीता खड्काले यस सडकको स्तरउन्नतीका लागि दबाब दिने सबै कार्यक्रममा आफु सहभागी हुने बताईन् ।
उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर मगरले यस सडकखण्ड ऐतिहासिक र पुरानो हुँदाहुँदै पनि ओझेमा परेकाले सबैले दबाब दिनुपर्ने बताए । नीतिमा परेपनि पर्याप्त बजेट नपर्नु दुःखद रहेको मगरको भनाई थियो ।
सडक नबन्दा यहाँका व्यवसाय धरासायी वन्दै गएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रयास कार्कीले बताए । ‘व्यापार व्यवसाय बन्द हुने अवस्थामा पुगिसके ।’उनले भने , ‘यसको स्तरउन्नतीका लागि सवैजना लागि पर्नुपर्यो ।’
माओवादी केन्द्रका केन्द्रीय सदस्य केपी बरालले विगतमा कटारीका सरोकारवालाहरु एकभएर सार्वजनिक चासोका कामहरु गरेको स्मरण गराउँदै यस सडकखण्डका लागि पनि एक भएर काम गर्नुपर्ने बताए ।
कार्यक्रममा सहभागीहरुले कटारी–मिर्चैयामा चल्ने ट्रिपरका लागि वैकल्पिक मार्गको आवश्यकता समेत औंलाए । ‘ट्रिपरले बाटो जीर्ण बनाउँछ अव ट्रिपर बन्द गर्न सडकमा आपैm निस्किन्छु ।’कटारी १ का वडाध्यक्ष पदमलाल मगरले भने ,‘यसको वैकल्पिक मार्गको लागि विकल्प पनि दिएका छौं ।’
मिर्चैया–कटारी–घुर्मी सडक आयोजनाको कार्यालय कटारीका निमित्त प्रमुख शम्भुकुमार मोचीले यस सडकखण्ड निर्माणका लागि हालसम्म बजेट नपरेको जानकारी दिए । यस अघि सिरहाको लहान स्थित सडक कार्यालयले ठेक्का दिएको साना साना आयोजनाहरुलाई नै कार्यालयले निरन्तरता दिएको बताउँदै उनले बजेट नभएपछी काम नभएको बताए ।
यस सडकखण्डमा मारुती , सौर्य र कसमस सिमेन्ट चुनढुंगा ढुवानी हुन्छन् । सहभागीहरुले यस सडक निर्माणका लागि दबाब दिनसक्ने पहुँचवाला प्रतिनिधिको अभाव रहेको बताएका थिए ।


जनता भ्वाइस 








