
कटारी /कटारी नगरपालिका वडा नम्बर १० का तीनघर आगलागी पीडितहरुलाई कोशी प्रदेश सरकारले प्रतिघर परिवार पचास हजारका दरले रकम उपलब्ध गराउने भएको छ । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री रामकुमार खत्री , कोशी प्रदेशकै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेलले आज घटनास्थलमै पुगेर राहत वितरण गर्दै आवश्यक प्रकृया पुराएर प्रदेश सरकारले तत्काल पचास हजारका दरले प्रतिघरपरिवारलाई रकम उपलब्ध गराउने जानकारी गराएका हुन् ।
गत सोमबार दिउँसो आगलागीबाट घरगोठ जलेर नष्ट भएपछी कटारी , १० थुम्की गाउँका ७४ वर्षिय गुमानसिंह थापा मगरको परिवार र ७२ वर्षिय नारायणबहादुर थापा मगरको परिवारको वास त्रिपालमा रहेको छ । सोही आगलागीमा परी मतान जलेका वेचन थापा मगर भने घरमै वसिरहेका छन् । वेचनको मतानमा रहेको सरसामानसँगै १८ वटा खसीवाख्रा मरेका थिए ।
आगलागी पीडित तीनै परिवारलै भेटेर मन्त्री खत्रीले आवश्यक मुचुल्काहरु तयार गरेर आउन आग्रह गरे । ‘आगलागीबाट ठूलो धनजन क्षति भएको परिवारलाई तत्काल पचास हजार दिन्छौं ।’मन्त्री खत्रीले भने ,‘यहाँका पीडितहरुलाई पनि हामी आर्थिक सहयोग तत्काल गर्छौ , अन्य राहत पनि दिने छौं ।’
मन्त्री खत्रीको टोलीले तत्काल घटनास्थलमै ६ बोरा चामल , एकथान त्रिपाल , ६ थान व्ल्याँकेट , ४ रोल म्याट समेत प्रदान गरेको थियो । आगलागी पश्चात घरबार विहिन भएकाहरुलाई कटारी नगरपालिकाले मंगलबार विहान त्रिपाल पठाएको थियो । ‘अहिले उनीहरुको वास त्रिपालमुनी कष्टप्रद छ ’स्थानीय ककनी टोल विकास संस्थाका सचिव धर्म खनालले भने ,‘हावाहुरी पानी पर्यो भने उनीहरुको विचल्ली हुने अवस्था रहेको छ ।’
आगलागीबाट अन्नपात , नगद , भाँडाकुँडा , लत्ताकपडा गरी झण्डै ६५ लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष राईले बताए ।त्यसैगरी मन्त्री खत्रीले कटारी नगरपालिकाकै वडा नम्बर ११ हर्देनीका आगलागी पीडित रुद्र विश्वकर्मालाई पनि ३० केजि चामल ,लत्ताकपडा र म्याट वितरण गरेका थिए । घटनास्थल उदयपुरको पश्चिमी उत्तरी भेगमा पर्दछ ।