३० फागुन , बुधबार ,२०८०
कटारी / कटारी नगरपालिका–१ खसिबास गाउँबाट दक्षिण चुरे जङ्गल क्षेत्रमा झरनामुनि रहेको जगदेश्वरी महादेव गुफा पुग्न गाउँलेहरुले जनश्रमदानबाट नै बाटो निर्माण गरेका छन् । प्राकृतिक रुपमा गुफाको संरचना फरक र आकर्षक भए पनि प्रचारप्रसारको अभाव र आउजाउका लागि बाटो नभएका कारण ओझेलमा परेको थियो ।
खसिबास गाउँबाट गुफा पुग्न करिब दुईघण्टा पैदल हिँड्नुपर्छ । दुईघण्टाको वाटो पैदल हिंडेर जान पनि वन क्षेत्र र पहाडी जंगलका कारण समस्या भएपछी स्थानीयले श्रमदानबाट मानिस आउजाउ गर्ने बाटो बनाएका हुन् । बाटो निर्माणका लागि ४० वर्ष शिक्षण पेशामा संलग्न भई पेन्सन लिएका पञ्चावती मावि खसिवासका पूर्व प्रधानाध्यापक ज्ञानबहादुर तामाङ्ग लागि परेका थिए ।
उनलाई झण्डै तीनमहिना जनश्रमदानका लागि स्थानीय लासाङ्ग तामाङ्गसँगै गाउँहरुले सहयोग गरेका थिए । ‘दुई दाजुभाई र गाउँलेहरुले झण्डै तीनमहिना बाटो खन्यौ ।’तामाङ्गले भने,‘आप्mनो ठाउँको मन्दिर ओझेलमा परेपछि यसको विकासका लागि आपैm लागेर बाटो खनेका हौं ।’
गाउँलेको श्रमदानबाट निर्माण गरिएको बाटोमा अहिले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्पmत पनि १० जनाले सय दिनको काम गरिरहेका छन् । कटारी १ का वडाध्यक्ष पदमलाल मगरले भने ,‘उक्त गुफा नगरकै पर्यटनको सम्भावना बाकेको गुफा हो ।’
यहाँ पुग्नका लागि सिद्धिचरण राजमार्गको कटारी–२ स्थित गुराँस र कटारी–३ को हडैँयाबाट सवारीसाधनमा खसिबासको बाँगेबजारसम्म जानुपर्दछ । बाँगेबजारबाट भने पैदल हिँडेर यस गुफामा पुग्न सकिन्छ । अहिले खसिबास स्थानीयले पूर्व शिक्षक ज्ञानबहादुर तामाङ्गकै नेतृत्वमा श्रमदानबाट खसिबासदेखि वडाकै वेलसोत जाने बाटो खनिरहेका छन् ।
दर्जनबढी गाउँलेहरुले प्रत्येक शनिबार जनश्रमदानबाट बाटो खनिरहेको तामाङ्गले बताए । जंगलको वीचमा रहेको गाउँबाट अन्यत्र जान समेत समस्या भएपछी गाउँलेहरुले श्रमदानबाट बाटो बनाउन थालेका हुन् ।


जनता भ्वाइस 







