कटारी / कटारी नगरपालिकामा मेडिकल कलेज स्थापनाको माग गर्दै सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाईएको छ । सरकारले विगतमा डा.गोविन्द केसीको आन्दोलन पश्चात सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने प्रतिवद्धता बमोजिम निर्माण गरिने कलेज कोशी प्रदेशको सन्दर्भमा कटारीमा स्थापनाको माग गरिएको हो ।
प्रधानमन्त्रीको कार्यालयमा पुगेर सर्वदलिय , सर्वपक्षिय टोलीले ज्ञापन पत्र बुझाएको हो । ‘यस अघि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट गठित अध्ययन टोलीले समेत कटारी ३ मा अध्ययन गरीसकेको छ । ’ज्ञापन पत्र बुझाउँदै नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले भने ,‘भौगोलिक , जनसंख्या तथा अन्य जिल्लासँगको अवस्थाले कटारी नगरपालिका मेडिकल कलेज स्थापनाका लागि उपयुक्त स्थान देखिन्छ ।’
ज्ञापन पत्र बुभ्mदै प्रधानमन्त्री दाहालले आफु सकारात्मक भएको बताएका थिए । प्रकृयागत रुपमा कटारीमा मेडिकल कलेज स्थापनाका लागि आफु प्रतिवद्ध रहेको समेत टोलीलाई प्रधानमन्त्री दाहालले बताए ।
कटारी ३ मा मेडिकल कलेज स्थापनाका लागि टोलीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईलाई समेत ज्ञापन पत्र बुझाएका थिए । पत्र बुभ्mदै राईले मेडिकल कलेज स्थापनाका लागि आवश्यक प्रकृयाका कामहरुको अवस्थाका बारेमा जानकारी लिएका थिए ।
कटारीमा मेडिकल कलेज स्थापनाका लागि छिमेकी जिल्ला सिन्धुली , ओखलढुंगा , खोटाङ्ग , सोलुखुम्बुका संसदहरुले समेत समर्थन गरेका थिए । उनीहरुले कटारीमै मेडिकल कलेज स्थापनाका लागि निर्णय गर्न पनि प्रधानमन्त्री दाहाललाई माग गरे ।
सिन्धुलीका संसद राजन दाहाल , ओखलढुंगाका संसद रामहरी खतिवडा , खोटाङ्गका संसद रामकुमार राई लगायत प्रदेश संसदहरु , पालिकाका प्रमुखहरु लगायतले समर्थन जनाउँदै ज्ञापन पत्र बुझाउन पुगेका थिए । कटारीमा मेडिकल कलेज स्थापना भए सवै जिल्लाहरु लाभान्वित हुने भएकाले समर्थन जनाएको संसद अम्बरबहादुर रायमाझीले बताए ।
कटारी ३ मा मेडिकल कलेज स्थापनाका लागि उपयुक्त हुने स्थान र पर्याप्त जग्गा समेत भएकाले कलेज स्थापनाका लागि आवश्यक सवै तयारी पालिकाले गर्ने कटारीका उपमेयर गिता खड्काले बताईन् । कटारीमा मेडिकल कलेज स्थापनाका लागि सर्वदलिय सर्वपक्षिय मेडिकल कलेज स्थापना समिति समेत गठन गरी जग्गा लगायतका अध्ययनका कामहरु भईरहेको छ ।