कटारी /उदयपुरको कटारी नगरपालिका वडा नम्बर ११मा संचालन गरिएको ४ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
‘कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाज् कादुरीको आयोजना तथा कटारी नगरपालिकाको समन्वय र सहजिरणमा सम्पन्न शिविरमा विभिन्न समस्याका एक हजार नौ सय ४० जना लाभान्वित भएका छन् । कटारी नगरपालिकाको पहाडी क्षेत्रलाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले विशेषज्ञ सहित संचालन गरेको स्वास्थ्य शिविरमा स्त्री रोगको जाँच गराएका ४ सय ७८ मध्य १० जना पाठेघर खस्ने समस्या भएका विरामी लाई रिगं पेसरी राखिएको छ ।आँखाको जाँच गराएका नौ सय ८० जना मध्य ५५ जनाको शल्यक्रिया गरिएको थियो भने अन्यलाई उपचार तथा चस्मा वितरण गरिएको कादुरीले जानकारी दिएको छ । यसैगरी ५ सय ४ जनाले दाँतको उपचार तथा सेवा लिएका छन भने करीव ११ सय अन्य विरामीले सेवा लिएका छन । शिविरमा निशुलक औषधि समेत वितरण गरिएको थियो ।
पहाडी तथा विकट क्षेत्रका नागरीकलाई यस शिविरबाट प्रत्यक्ष लाभ मिलेको बताउदै कटारी नगर उपप्रमुख गीता खड्काले कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाज् कादुरी प्रति आभार तथा धन्यवाद ज्ञापन गर्दै कटारीको पर्यटकिय क्षेत्रहरु समेटीएको मायाको चिनो प्रदान गर्नु भएको छ । खड्काले ग्रामिण क्षेत्रका जनताको स्वास्थ्यमा सहज तथा शुलभ पहुँच पुराउने उदश्यले विभिन्न स्वास्थ्य शिविर आयोजना गरिएको बताउनु भयो । यस्तै वडा नम्बर ११ का वडा अध्यक्ष अनन्त हायुले ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले यस खालका शिविर सञ्चालन हुदाँ नागरीकलाई राहत मिलेको बताउदै कादुरीलाई फेरी पनि सहकार्यको लागि आग्रह गर्नु भयो ।
शिविरमा कटारीको वडा नम्बर ८,९,१०,११,१२,१३,१४ का नागरीकहरुले स्वास्थ्य सेवा लिएका थिए । शिविरमा गुणस्तरीय र प्रविधियुक्त सेवा मिलेको बताउदै स्थानीय हर्षित भएका छन् ।