images
images

जग्गा नापी नगरिदिएको भन्दै नापी गरिदिन नगरपालिकासँग माग

कटारी/ कटारी नगरपालिका वडा नं. ३ च्याँगाका थामी समुदायले भोगचलन गरेको जग्गा नापी गरीपाउँ भन्दै नगरपालिकामा निवेदन दिएका छन् । अतिसिमान्तकृत थामी समुदाय जग्गा नापीबाट बञ्चित बनेका भन्दै उनीहरुले जग्गा नापी गरिदिन आग्रह गरेका छन् ।
बर्षौंदेखि भोगचलन गर्दै आएको आफ्नै जग्गा नापीबाट बञ्चित भएको उनीहरुले बताएका छन् । नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठलाई निवेदन दिंदै उनीहरुले जग्गा नापीको माग गरेका हुन् । हाल कटारी नगरपालिकाले वडाहरुमा नापीको काम अगाडि बढाउँदा थापी समुदाय रहेको गाउँमा नापी हुन बाँकी छ ।
नगरपालिकाले नापीमा छुट्याए पछि थामी समुदायसहित दलित तथा विपन्न बर्गका घरधुरी नापीबाट बञ्चित भएको उनीहरुले बताएका छन् । आफुहरुलाई नगरपालिकाबाट गैरनागरिकको ब्यवहार भएको गुनासो उनीहरुको छ ।
थामी समुदायले सो ठाउँमा आफुहरु २०२९ सालदेखि बसोबास गर्दै आएक बताएका छन् । आसपासको गाउँटोलमा सोही प्रकृत्तिको बसोबास रहेको जग्गामा नापीको काम हुँदा सो ठाउँमा नगरिएको थामी समुदायको भनाई छ । उनीहरुले आज संयुक्त हस्ताक्षर र ल्याप्चेसहितको संयुक्त विनेदन पेश गर्दै नगरपालिकालाई नापीका लागि अनुरोध गरेको छ ।