कटारी / कटारी नगरपालिका वडा नम्बर २ को खोक्सामा लाग्ने ऐतिहासिक , धार्मिक तथा साँस्कृतिक महत्व वोकेको त्रिवेणी (मैनी)मेला सोमबारदेखि सुरु भएको छ । प्रत्येक वर्ष माघ १ गतेबाट वर्षेनी १५ दिनसम्म लाग्दै आएको त्रिवेणी मेला सुरु भएको हो । कटारी नगरपालिका २ खोक्सा स्थित कमला, तावा र ककरु नदीको संगमस्थल त्रिवेणीघाटमा लाग्ने भएकाले मैनी मेलालाई त्रिवेणी मेला समेत भन्ने गरिएको छ । तीन नदीको संगम स्थलमा मकर स्नान गरी भाकल गरे अनुसारको पशुपंक्षी बलिदिई पुजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास रहदैं आएको छ ।
तीन नदीको संगमस्थल त्रिवेणीमा मकर नुहाउन विभिन्न जिल्लाबाट लाखौंको संख्यामा दर्शनार्थीहरु आउने गरेको स्थानीय बताउँछन । यो मेला परापूर्वकालदेखि नै लाग्दै आएको स्थानीय बुढापाकाहरु बताउँछन् । मेलामा कोशी प्रदेश , वागमती प्रदेश , मधेस प्रदेशका अलावा अन्य प्रदेश र भारतबाट समेत भक्तजनहरु आउने गरेका छन् ।
विगतमा पहाडी जिल्ला ओखलढुंगा , सोलुखुम्बु , खोटाङ्गका स्थानीयले त्रिवेणीबाट दैनिक उपभोग्य सामाग्रीका अलावा , भाँडाकुँडा , लत्ताकपडा किनेर लैजाने गर्दथे । पहाडका उत्पादन बेच्न पनि यो मेला महत्वपूर्ण थियो ।
यहाँ पहाडका भोटे कुकुर , आलु लगायतका उत्पादन विक्रि हुन्थे भने , मधेसका नुन , भाँडा वर्तत लत्ताकपडा पहाड पुराउने सेतुका रुपमा यो मेला परिचित थियो । द्वन्दकाल अघि यो मेला माघ महिनाभरी लाग्ने गर्दथ्यो । यसर्थमा यो देशकै लामो समय लाग्ने मेला समेत थियो । द्वन्दकालपछी भने यो मेला १५ दिन मात्रै लाग्दै आएको छ ।
यो मेला कटारी नगरपालिकाको मात्रै नभई यस क्षेत्रकै महत्वपूर्ण मेला रहेको कटारी नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठले बताउनुभयो । यहाँ परापूर्वकालमा घोडा दौड प्रतियोगिता र स्थानीय उत्पादनको किनवेचको आकर्षण हुने गर्दथ्यो ।


जनता भ्वाइस 








