जन्ताभ्वाईस सम्वाददाता
पुष , २२ , आईतबार , २०८०
कटारी / कटारी नगरपालिका वडा नम्बर ५ मा रहेको तीनतले आमा समाज विपन्नहरुको सहारा वन्दै गएको छ । उनीहरुले वर्षेनी वडाका विभिन्न व्यक्तिहरुलाई सहयोग गर्दै आईरहेका छन् ।
समाजमा ३४ जना आमाहरु सदस्य रहेका छन् । उनीहरुले देउसी खेलेर जम्मा गरेको रकमबाट विपन्नहरुलाई सहयोग गर्ने गरेका छन् । ‘वडाका विपन्न , असहाय , अशक्तहरुलाई सकेको सहयोग गर्ने गरेका छौं ।’समाजका अध्यक्ष पार्वती दाहालले भनिन् , ‘आवश्यकता हेरेर सहयोग गर्ने गरेका छौं ।’
जाडो बढ्दै गएको यो पुष महिनामा मात्रै आमाहरुले प्यारालाईसिसले थलिएका टुकुने सार्कीलाई सिरक , डसना , लत्ताकपडा , र खाद्यान्नका सामाग्रीहरु समेत सहयोग गरे । सार्कीलाई ७ हजार ८ सय बराबरको सहयोग गरेको समाजका सदस्यहरुले बताए ।
त्यसैगरी आर्थिक अवस्था अत्यन्त कमजोर रहेको वडाकै भूल्केकी चमेली तामाङ्गलाई पनि लत्ता कपडा , खाद्यान्न , सिरक , डसना , भाँडाकुडाँ गरी १४ हजार ६ सय ६० बराबरको सहयोग आमाहरुले गरेका छन् । चिसो बढ्दै गएका वेला विपन्न मनमाया भुजेललाई पनि आमाहरुले नगद १२ हजार ७ सय २० बराबरको लत्ता कपडा , लगायतका सामाग्रीहरु सहयोग गरे ।
विपन्नले खाद्यान्न , लत्ताकपडा नभएकै कारण ज्यान गुमाउनु नपरोस भनेर सहयोग गरेको समाजका अध्यक्ष दाहालले बताईन् । उनीहरुले वडाकै सरस्वती मावि भोर्लेका अति विपन्न तर जेहेन्दार विद्यार्थी कक्षा ९ का लालमाया मगरलाई पनि सहयोग गरे ।
लालमायालाई स्कूल पोशाक , ज्याकेट , जुत्ता , स्टेशनरी , झोला गरेर ११ हजार २ सय ५० रुपैंया बराबरको सहयोग गरेको पनि अध्यक्ष दाहालले बताईन् । समाज संञ्चालन र व्यस्थापनका लागि उनीहरुलाई प्लेईङ्ग फर चेन्ज , अमेरिकाले सहयोग गरिरहेको छ । सहयोगका लागि भने उनीहरुले देउसी खेल्ने , समाजमा वचत गर्ने लगायतका रकम खर्च गर्ने गरेका छन् ।


जनता भ्वाइस 








