जन्ताभ्वाईस सम्वाददाता
पुष २०,शुक्रबार२०८०
कटारी/उदयपुर जिल्लाको कटारी नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन हुने भएको छ ।
आज कटारी नगरपालिकाको सभाहलमा नगरप्रमुख राजेशचन्द्र श्रेष्ठको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालनका लागि सम्झौता गरिएको हो ।
सम्झौता कार्यक्रमलाइ सम्बोधन गर्दै कटारी नगरपालिकाका मेयर श्रेष्ठले कटारी नगरपालिका अपाङ्गगता रोकथाम तथा पुनस्थापनाको लागि प्रतिवद्ध रहेको बताउनु भयो । श्रेष्ठले अपाङ्गता भएका व्यतिmको क्षमता विकास तथा बृद्धि विकासको लागि नगरको विशेष योजना रहेको पनि बताउनु भयो ।
कार्यक्रममा नगर उपप्रमुख गीता खड्काले अपाङ्गता भएका व्यक्तिहरुको योगदानबाट राज्यले ठुलो सफलता हाँसिल गर्न सक्ने भन्दै अपाङ्गता भएकालाई सम्मान र क्षमता अनुसार सीपमुलक काममा सहभागी गराउदै लैजानु पर्नेमा जोड दिनु भयो ।
करुणा फाउन्डेसन नेपाल, राष्ट्रिय अपाङ्ग महासंघ, कोशी प्रदेश र सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको सहकार्य तथा कटारी नगरपालिकाको आयोजनामा आयोजित कार्यक्रम मार्फत अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन सम्बन्धि अभिमुखीकरण तथा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन, २०७४ कार्यान्वयन गरी अपाङ्गता भएका व्यक्तिहरूको सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्राप्तिका निमित्त कोशी प्रदेश सरकारद्वारा जारी गरिएको अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन निर्देशिका, २०७६ र सो निर्देशिका बमोजिम सामाजिक विकास मन्त्रालय र करूणा फाउण्डेसन नेपालका बीच २०७६ असोज ०८ गते भएको सम्झौता बमोजिम सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, र सम्झौता हस्ताक्षर भएका पालिकाहरू तथा साझेदार संस्था करूणा फाउण्डेसन नेपालको लागत साझेदारीमा सञ्चालन हुने अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम संचालन सम्बन्धि सम्झौता गरिएको हो ।
कार्यक्रमका लागि निर्देशिकामा भएको व्यवस्था बमोजिम पहिलो दुई वर्षसम्म साझेदार संस्थाले मन्त्रालय र पालिकासँगै एक तिहाई लागत साझेदारी गर्नेछ भने कार्यक्रम सञ्चालनको तेस्रो वर्षमा पालिकाले मन्त्रालयसँग मात्र लागत साझेदारी गर्नेछ र तेस्रो बर्ष साझेदार संस्थाले कार्यक्रम सञ्चालनका लागि पालिकालाई प्राविधिक सहयोग मात्र उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
कटारी नगरपालिकामा एक हजार ५९ जना अपाङ्गता भएका ब्यक्तिको तथ्यांक छ भने राष्ट्रिय जनगणना २०७८ अनुसार कटारी नगरपालिकामा १ हजार ४ सय ४१ जना अपाङ्गता भएका ब्यक्तिहरु रहेको तथ्यांक छ ।


जनता भ्वाइस 







