images
images

सिमसारदेखि मादलेढुंगासम्म पदमार्ग निर्माणको पहल गरिने

जन्ताभ्वाईस सम्वाददाता
९ पुष , सोमबार , २०८०
कटारी / कटारी नगरपालिका वडा नम्बर ५ स्थित ज्योति सामुदायिक वन क्षेत्रमा रहेको मादले ढुंगा सम्म पदमार्ग निर्माणका लागि पहल गरिने भएको छ । वडाको ज्योती सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा रहेको यस ढुंगालाई मादले ढुंगा भन्ने गरिन्छ । ठ्याक्कै मादल जस्तै बज्ने भएकाले यसलाई बुढापाकाहरुले मादले ढुंगा नाम राखेका सिसाघारी पर्यापर्यटन क्षेत्र विकास समितिका संयोजक दिलबहादुर अधिकारीले बताउनुभयो । यो अचम्मको ढुंगासम्म जानेगरी पदमार्ग निर्माणको पहल थाल्ने पनि अधिकारीले बताउनुभयो ।
कटारीकै पर्यटकीय क्षेत्र सिमसारबाट सिसाघारी सामुदायिक वन क्षेत्रहुँदै यस ढुंगासम्म पुग्न जंगलको बाटो झण्डै एकघण्टा हिंड्नुपर्छ । सिसाघारी सिमसारबाट मादलेढुंगाहुँदै खैरेनीको सिमसार जोड्ने गरी पदमार्ग निर्माणका लागि छलफल थालेको पनि संयोजक अधिकारीले बताउनुभयो ।
गोठालाहरुले यो ढुंगाका बारेमा धेरै वर्ष अघिदेखि जानकारी राखेका थिए । मादलजस्तै वज्ने भएकाले गोठालेहरुले यसलाई बजाउने गर्थे । यसको विकासका लागि जिल्ला समन्वय परिषदमा पनि कुरा गरिसकेका ज्योती सामुदायिक वनका सचिव काजीलाल दनुवारले बताउनुभयो ।
अचम्मको ढुंगा रहेकाले यसलाई संरक्षण गर्ने र आन्तरिक पर्यटनमा जोड दिन उपभोक्ताहरु सहमत भएका छन् । उक्त वन क्षेत्रमा खोपी ढुंगा , बाघचाल ढुंगा जस्ता अन्य फरक फरक प्रकृतिका ढुंगाहरु समेत रहेको स्थानीयहरु बताउँछन् ।