जन्ताभ्वाईस सम्वाददाता
२९ मंसिर , शुक्रबार , २०८०
कटारी / गएको आर्थिक वर्ष २०७९/८० को एकवर्ष भित्रमा कटारी नगरपालिकाबाट १ हजार ९ सय ६७ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यसैगरी उक्त आर्थिक वर्षको एकवर्षमा ४ सय ६४ जना फर्किएका छन् ।
आज कटारी नगरपालिकामा सम्पन्न वैदेशिक रोजगारबाट फर्केर आएका व्यक्तिहरुको पुन एकीकरण परियोजना (रेमी)सम्बन्धि जनप्रतिनिधि तथा सरोकारवालाहरुसँगको अभिमूखिकरण कार्यक्रममा तथ्यांक प्रस्तुत गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले नगरमा एक आर्थिक वर्षमा ५२ करोड १३ लाख रेमिट्यान्स भित्रिएको जानकारी दिनुभयो ।
अधिकृत किरातीका अनुसार उक्त रेमिट्यान्स सवैभन्दा बढी अनुत्पादक क्षेत्रमा खर्च भएको छ । ‘१४ प्रतिशत मात्रै वचत देखियो , १ दशमलव ७ प्रतिशत ऋण लगानी भएछ ।’अधिकृत किरातीले भन्नुभयो , ‘शून्य दशमलव ५ प्रतिशत व्यवसाय र ८४ प्रतिशत अनुत्पादक क्षेत्र अर्थात मोबाईल टिभी लगायतमा खर्च भएको देखियो ।’
नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा वोल्दै ईलाका प्रशासन कार्यालय कटारीका प्रमुख उपसचिव भीमप्रसाद भट्टराईले देश नै रेमीट्यान्सले धानिरहेको बताउनुभयो । ‘रेमीट्यान्सले नेपालको सवै क्षेत्रलाई समेटेको छ ।’भट्टराईले थप्नुभयो , ‘सीप सिकेर जानेको संख्या कम छ , त्यसैले कम तलबमा तल्लो क्षेत्रको काम गरिरहेका छन् ।’
मेयर श्रेष्ठले विदेशवाट फर्किएकाहरुलाई आर्थिक , सामाजिक , राजनीतिक समस्या समाधानका लागि रेमी परियोजनाले काम गर्ने बताउनुभयो । ‘परियोजनाको सुरुवाती चरण सुरु भएको छ । ’मेयर श्रेष्ठले भन्नुभयो ।, ‘वडा नम्बर ५ र ७ मा धेरैजना विदेश जाने गरेको पाईएकाले त्यहाँबाट परियोजना सुरुवात गरेका छौं ।’
कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष प्रेम थापाले नेपालमा रोजगारीको अवसरहुँदा हुँदै पनि विदेश पलायन हुने बढेकाले यस तर्पm ध्यान दिनुपर्ने सुझाव दिनुभयो । ‘भारतबाट आएर नेपालमा काम गरिरहेका छन् , नेपालीहरुचाहिं किन विदेश विदेश भनिरहेका छन् , सोच्नेवेला भयो ।’अध्यक्ष थापाले भन्नुभयो ।
कटारी नगरपालिकाका रोजगार सेवा केन्द्रका प्रमुख विनोद धमालका अनुसार रेमी परियोजनाको काम वडा नम्बर ५ र ७ बाट सुरुवात गरिएको छ । परियोजनाका परामर्शकर्ता जयन्ती तामाङ्गले सामाजिक पुनः एकीकरणका बारेमा जानकारी मुलक प्रस्तुतिहरु दिनुभयो ।
कार्यक्रममा नगरपालिकाका उपमेयर गिता खड्का , ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी सुभाष राई , वडाध्यक्षहरु , कार्यापालिका सदस्यहरु , नगरपालिकाका शाखा प्रमुखहरु साथै पत्रकारहरुको सहभागीता रहेको थियो । रेमी परियोजना स्विजरल्याण्डको सहयोगमा हेल्भेटास मार्पmत ५० लाखमा परियोजना सुरुवात भएको छ ।
जसका कटारी नगरपालिकाको २० प्रतिशत लागत रहेको छ । कोशी प्रदेशमा १० स्थानीय तहमा यो परियोजना सुरु भएको छ भने उदयपुरमा कटारी नगरपालिमा पहिलो पटक यो परियोजना सुरु गरिएको हो । कटारीमा वैदेशिक रोजगारीमा जानेहरुका लागि सामी परियोजनाले पनि काम गरिरहेको छ । रेमीले भने वैदेशिक रोजगारीबाट फर्किएकाहरुको क्षेत्रमा काम सुरु गरेको छ ।


जनता भ्वाइस 








