जन्ताभ्वाईस सम्वाददाता
२४ कार्तिक , शुक्रबार , २०८०
कटारी / कटारीमा शुक्रबार सम्पन्न प्रथम कटारी टाईगर भेट्रान्स कप फुटबलको उपाधि झापा भेट्रान्सले कब्जा गरेको छ । उपाधिका लागि फाईनलमा धरान भेट्रान्सलाई टाईपव्रेकरमा १ का विरुद्ध ४ गोल गर्दै झापाले उपाधिसँगै नगद ६१ हजार , शिल्ड , मेडल र प्रमाण पत्र हात पारेको हो ।
उपविजेता धरानले नगद ४१हजारका साथमा शिल्ड , मेडल र प्रमाण पत्रमा चित्त बुझायो । खेलको पहिलो हाफको ३ मिनेटमै धरानका लागि सचिन राईले हेड मार्पmत गोल गरेर अग्रता दिलएका थिए । गोल गर्ने थुपै्र अवसर गुमाएको झापाका लागि दोस्रो हाफमा दिपेन गिरीले गोल गरे खेल बराबरीमा ल्याएका थिए ।
खेल अवधिमा दुवै टिमले एकएकको बराबरी खेलेपछी टाईपव्रेकरबाट नतिजा निकालिएको हो । टाईपव्रेकरमा झापाका लागि देउमान साँवा , निर्मल तामाङ्ग , पुष्कर धिमाल र दिपेन राईले गोल गर्दा धरानका लागि सचिन राईले मात्रै गोल गरे । 
खेलको म्यान अफ द म्याच धरानका सचिन राई घोषित भए । प्रतियोगितामा सर्वाधिक ४ गोल गर्दै झापाका निर्मल तामाङ्ग सर्वाधिक गोलकर्ता घोषित भए । उत्कृष्ट खेलाडी झापाका दिपेन गिरी र उत्कृष्ट गोल रक्षक झापाकै सुनिल तामाङ्ग घोषित हुँदा धरानका डिल्लीराम श्रेष्ठ जेष्ठ खेलाडी घोषित भए ।
विजेता झापालाई प्रतियोगिताका समापन समारोहका प्रमुख अतिथि कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले नगद चेक तथा शिल्ड वितरण गर्नुभयो ।त्यसैगरी विशेष अतिथि विष्णुबहादुर तामाङ्ग र आयोजक कटारी टाईगर भेट्रान्सका अध्यक्ष दिपक राईले मेडल तथा प्रमाण पत्र वितरण गरे ।कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष पुष्कर खड्का , ४ का अध्यक्ष भूपेन्द्रसिंह तामाङ्ग , ५ का अध्यक्ष मोहन तामाङ्ग ८ का अध्यक्ष नविन्द्र तामाङ्गले पुरस्कार वितरण गरे ।
कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष सुविन ढुंगाना , ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी सुभाष राई , शसस्त्र वेश क्याम्प कटारीका ईन्चार्ज प्रहरी निरिक्षक भुवन वस्नेत , लगायतका आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सहयोगी दाताहरु तथा रेफ्रीहरुलाई समेत सम्मान गरिएको थियो ।
प्रतियोगिताको समापन गर्दै आयोजक कटारी टाईगरका अध्यक्ष दिपक राईले आगामी दिनमा पनि फुटबललाई माया गरी सहयोग गरिदिन सवैलाई आग्रह गर्नुभयो । प्रतियोगितामा ८ जिल्लाका ८ टिमले प्रतिष्पर्धा गरेका थिए ।


जनता भ्वाइस 








