जन्ताभ्वाईस सम्वाददाता
२० कार्तिक , सोमबार , २०८०
कटारी / नेपालको वनको अवस्थाबारे अध्ययन गर्न जर्मनीका विद्यार्थीहरु उदयपुरको कटारी आईपुगेका छन् । जर्मनी स्थित वन विज्ञान विश्व विद्यालयमा स्नातकोत्तर तहमा अध्ययरत विश्वका १७ देशका विद्यार्थीहरु वनको अध्ययन गर्न कटारी आईपुगेका हुन् ।
जर्जी अगष्ट विश्वविद्यालय गोट्न्जिन जर्मनीमा अध्ययनरत विद्यार्थीहरु कटारी , ४ स्थित कोपीला सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा आईपुगेका हुन् । नेपाल सरकार अन्र्तगत कृषि वन विश्वविद्यालयको व्यवस्थापकीय जिम्मेवारीमा जर्मनीका विद्यार्थीहरु नेपालको वनको अध्ययन गर्न आईपुगेको डिभिजन वन कार्यालय कटारीका प्रमुख डिभिजन वन अधिकृत अनिरुद्ध कुमार साहले बताए ।
साहका अनुसार उनीहरुले नेपालको वनको अवस्था , तथ्यांक संकलन , लगायतका सवै विषयको अध्ययन गर्नेछन् । ‘वनको बारेमा थप सिकाई सिक्नेछन् त्यसका लागि हामीले पनि कर्मचारी खटाएका छौं ।’अधिकृत साहले भने ,‘अन्तिममा समुदायमै वसेर प्रस्तुति दिएर जानेछन् ।’
कृषि वन विश्वविद्यालय अन्र्तगत विद्यार्थीहरुलाई प्राकृतिक स्रोत व्यवस्थापन कलेज कटारीले व्यवस्थापन गरिरहेको छ । ‘तीन हप्तासम्म उनीहरुले सामुदायिक वन क्षेत्रमै वसेर अध्ययन गर्नेछन् ।’कलेजका उपप्राध्यापक राजिव जोशीले भने , ‘विश्वमा रहेका वनहरुको विषयमा सिकाई आदान प्रदान भईरहेको छ ।’
नेपाली सामुदायिक वनको कार्यायोजना , वन व्यवस्थापनदेखि वनको सवै विषयमा विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । २ जना प्रोफेसर सहित १८ विद्यार्थीको समूह कटारीको वनमा अध्ययनमा खटिएका छन् ।
विश्वका विभिन्न देशका विद्यार्थीहरुले वन र समुदायमा समेत वनको अध्ययन गरिरहेको कोपीला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिपक राईले बताए । आप्mनो वनमा अध्ययनका लागि विश्वबाट विद्यार्थीहरु आएपछी उपभोक्ताहरुले समेत आवश्यक सहजिकरण गरिरहेको पनि अध्यक्ष राईले बताए ।
डिभिजन वन कार्यालय गाईघाटको समन्वयमा डिभिजन वन कार्यालय कटारीले यस क्षेत्रको २ वटा सामुदायिक वनमा अध्ययनका लागि सिफारिस गरेको थियो । जसमध्ये कोपीला सामुदायिक वनलाई विद्यार्थीहरुले छनौट गरेका हुन् । कोपीला सामुदायिक वन यस क्षेत्रको नमुना सामुदायिक वनका रुपमा रहेको छ । यहाँ यस अघि पनि देशभित्रका विभिन्न समूहले अध्ययन गरेको पनि अध्यक्ष राईले बताए ।


जनता भ्वाइस 







