
जन्ताभ्वाईस सम्वाददाता
४ कार्तिक , शनिबार , २०८०
कटारी / कटारी , ५ भोर्लेमा सम्पन्न प्रथम शलेक कप खुल्ला नकाउट फुटबल प्रतियोगिता २०८० को उपाधि कटारी भेट्रान्सले कब्जा गरेको छ । शनिबार सम्पन्न फाईनलमा कटारी फुटबल क्लवमा टाईपव्रेकरमा कटारी फुटबल क्लवलाई ३ का विरुद्ध ५ गोल गर्दै भेट्रान्सले उपाधिका साथमा नगद ५५ हजार , शिल्ड , मेडल र प्रमाण पत्र हात पारेको हो ।
उपविजेता कटारी फुटबल क्लवले नगद ३५ हजारका साथमा शिल्ड , मेडल र प्रमाण पत्र हात पार्यो । खेलको खेल अवधिमा दुई दुई गोलको बराबरी भएपछि टाईपव्रेकरबाट नतिजा निकालिएको हो । प्रतियोगिताको सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी भेट्रान्सका प्रताप राई घोषित भए । त्यसैगरी उत्कृष्ट गोल रक्षक समेत भेट्रान्सका कुलबहादुर विक घोषित भए ।
पुरस्कृत टिमलाई समापन समारोहका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य अम्बरबहादुर रायमाझी , विशेष अतिथि , प्रदेश सभा सदस्य रामकुमार खत्री , वडाध्यक्ष मोहन तामाङ्ग लगायतले वितरण गरे । शलेश युवा समूह भोर्लेको आयोजनामा सम्पन्न प्रतियोगिताको समापन समारोहमा वोल्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य रायमाझीले स्थानीय तह र सवै मिलेर भोर्लेको खेल मैदानलाई नमुना खेल मैदान बनाउन पहल गर्ने बताउनुभयो ।
त्यसैगरी भोर्लेले राष्ट्रिय खेलाडी समेत उत्पादन गरिसकेको जानकारीसँगै आगामी दिनमा पनि खेलाडीहरु उत्पादन गर्ने प्रयास गर्न आग्रह गर्नुभयो । वडाध्यक्ष तामाङ्गले भोर्लेको खेल मैदानलाई डिपिआर निर्माण गरी विकास गर्ने तयारी भईरहेको बताउनुभयो । त्यसैगरी प्रदेश सभा सदस्य खत्रीले खेलाडीहरुलाई प्राथमिकतामा राखेर काम गरे मुलकलाई चिनाउन खेलाडी सक्षम हुने बताउनुभयो ।
गएको असोज २२ देखि सुरु भएको प्रतियोगितामा २३ टिमले प्रतिष्पर्धा गरेको क्लवका अध्यक्ष देवान थापाले जानकारी दिनुभयो । कार्यक्रमको अवसरमा प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने विभिन्न निकाय तथा व्यक्तिहरुलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो । तस्बिरहरु /ऋषि राई