images
images

दाेस्राे गबुवा कप प्रहरी तालिम केन्द्रकाे कब्जामा

जन्ताभ्वाईस सम्वाददाता , ३ गते , शुक्रबार ,२०८०

कटारी/ उदयपुरको कटारी नगरपालिका वडा नम्बर ४ मा शुक्रबार सम्पन्न दोस्रो गबुवा खुल्ला नकाउट फुटबल प्रतियोगिताको उपाधि वागमति प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीले कब्जा गरेको छ । प्रतियोगिताको फाईनलमा कटारी नगरपालिकाको वडा नम्बर ५ को फुटबल टिमलाई ० का विरुद्ध २ गोल गर्दै केन्द्रले उपाधि कब्जा गरेको हो ।
उपाधिसँगै केन्द्रले नगद ६६ हजार ६ सय ६६ का साथमा शिल्ड , मेडल र प्रमाण पत्र हातपार्दा उपविजेता कटारी , ५ ले नगद ४४ हजार ४ सय ४४ का साथमा शिल्ड , मेडल र प्रमाण पत्रमा चित्त बुझायो । प्रतियोगिताका विजेता र उपविजेतालाई समापन समारोहका प्रमुख अतिथि कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले पुरस्कार प्रदान गर्नुभयो ।
खेलको पहिला हाफमा केन्द्रका लागि अर्जुन राना र दोस्रो हाफमा प्रताप कुमार चौधरीले गोल गरेका थिए । खेलमा कटारी , ५ ले पाएको राम्रो अवसरहरुलाई गोलमा परिणत गर्न नसक्दा उपविजेतामा सिमित हुनुपरेको हो । प्रतियोगिताका उत्कृष्ट खेलाडी केन्द्रका किरण राई , उत्कृष्ट गोलरक्षक केन्द्रकै सुरज सदा र प्रतियोगिता भर ४ गोल गरेका कटारी , ५ का रोशन कुमार दनुवार उत्कृष्ट गोलकर्ता घोषित भए ।
उत्कृष्टहरुलाई नगदका साथमा ट्रफी , मेडल र प्रमाण पत्र प्रमुख अतिथि मेयर श्रेष्ठले प्रदान गर्नुभयो । त्यसैगरी निर्णायक रेफ्री सन्तोष तामाङ्ग र सहायक रेफ्रीहरुलाई पनि मायाको चिनो र प्रमाण पत्र प्रदान गरियो । गएको असोज २६ गतेदेखि गबुवा स्पोर्टस क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा कटारी र सिन्धुलीका गरी १० टिमले प्रतिष्पर्धा गरेका थिए ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि मेयर श्रेष्ठले गबुवामा कटारीमा भएका स्थानीयस्तरका फुटबल प्रतियोगितिाहरुमा सवैभन्दा ठूलो राशीका प्रतियोगिता सम्पन्न गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो ।त्यसैगरी क्लवका लागि आवश्यक पूर्वाधार लगायतका कार्यमा नगरपालिकाले सहयोग गर्ने पनि प्रतिवद्धता जनाउनुभयो ।कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष भूपेन्द्र सिंह तामाङ्ग , वडा नम्बर ५ का वडाध्यक्ष मोहन तामाङ्ग , वडा नम्बर ८ का वडाध्यक्ष नविन्द्र तामाङ्ग लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगिता सम्पन्न गर्न धेरैले सहयोग गरेको स्मरण गर्दै क्लवका अध्यक्ष अभिषेक विश्वकर्माले सवैलाई धन्यवाद दिनुभयो । कार्यक्रममा स्वागत मन्तब्य क्लवका मित्रलाल श्रेष्ठले दिनुभएको थियो । दसैंको अवसरमा क्लवले प्रतियोगिता आयोजना गर्दै आएको छ ।