जन्ताभ्वाईस सम्वाददाता
२९ असोज , सोमबार , २०८०
कटारी / गएको असोज १५ देखि कटारी , ३ च्याँगामा जारी प्रथम च्याँगा खुल्ला नकाउट फुटबल प्रतियोगिताको उपाधि आयोजक च्याँगा फुटबल क्लवले कब्जा गरेको छ । सोमबार सम्पन्न फाईनलमा नेपाली सेनाको श्री पशुपति प्रसाद गण कटारी , १ बेलसोतलाई टाईपव्रेकरमा ० का विरुद्ध ३ गोल गर्दै च्याँगाले उपाधि कब्जा गरेको हो ।
खेल अवधिमा दुवै टिमले गोल गर्न नसकेपछी टाईपव्रेकरबाट नतिजा निकालिएको हो । विजयी च्याँगाले उपाधिसँगै नगद २१ हजार , शिल्ड , मेडल र प्रमाण पत्र हात पार्दा उपविजेता गणले नगद ११ हजारका साथमा शिल्ड , मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।
विजयी टिमलाई प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि कटारी नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठ , विशेष अतिथि उपप्रमुख उपमेयर गिता खड्का , वडा नम्बर ३ का वडाध्यक्ष पुष्कर खड्का लगायतका अतिथिहरुले पुरस्कार प्रदान गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडी गणका सरोज श्रेष्ठ , सर्वाधिक गोल कर्ता सगरमाथा फुटबल क्लवका प्रितम धामी , उत्कृष्ट डिफेण्डर च्याँगा फुटबल क्लवका गोपाल लिम्बु , उत्कृष्ट गोलरक्षक च्याँगाकै सुजल गिरी र उदयमान खेलाडी च्याँगाकै श्रवण सुनुवार घोषित भए ।
विधागत पुरस्कृत खेलाडीहरुलाई वडाध्यक्ष पुष्कर खड्का , वडा सदस्य युवराज अधिकारी र पप्पु खाँले नगद , प्रमाण पत्र र मेडल प्रदान गरेको प्रतियोगिताका संयोजक यज्ञकुमार राईले बताउनुभयो । प्रतियोगिताका प्रमुख अतिथि मेयर श्रेष्ठले शुभकामना मन्तव्य राख्दै फुटबल कटारी नगरको उत्कृष्ट खेल भएको बताउनुभयो ।
नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेको पनि मेयर श्रेष्ठले बताउनुभयो । त्यसैगरी विशेष अतिथि उपमेयर गिता खड्काले नगरको खेलकुदलाई खेलकुद विकास समिति मार्पmत व्यवस्थित गर्दै लैजाने बताउनुभयो । वडाध्यक्ष पुष्कर खड्काले वडामा सम्पन्न यस प्रतियोगिता महत्वपूर्ण भएकाले सम्पन्न गरेकोमा सवैलाई शुभकामना दिनुभयो । 
प्रतियोगिताका आर्थिक समिति संयोजक तथा क्लवका कोषाध्यक्ष ओमराज राईका अनुसार पहिलो पटक स्थानीयको सहयोग र श्रमदानमा निर्मित खेल मैदानमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सवैलाई क्लवका अध्यक्ष ऋषिबहादुर राईले धन्यवाद दिनुभयो ।
प्रतियोगिताका लागि आर्थिक तथा विभिन्न सहयोग गर्नेहरुलाई प्रशंसा पत्र तयार भएपनि समय अभावले वितरण गर्न नसकिएको र एक कार्यक्रमकावीच प्रतियोगिताको समिक्षाका साथ सवैलाई प्रंशंसा पत्र समेत वितरण गर्ने अध्यक्ष राईले बताउनुभयो । प्रतियोगिताका संयोजक राईका अुनसार प्रतियोगितामा कटारी र दुधौलीका गरी २३ टिमले प्रतिष्पर्धा गरेका थिए ।
समापन समारोहमा ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी सुभाष राई , कटारी नगरपालिकाका मेयरका सचिवालय प्रमुख सुदिप बराल , नगर खेलकुद विकास समिति , वडा खेलकुद विकास समिति लगायतको आतिथ्यता रहेको थियो ।


जनता भ्वाइस 








