images
images

क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा विभिन्न माग राख्दै नगरपालिकालाई ज्ञापन पत्र

जन्ताभ्वाईस सम्वाददाता
२४ असोज , बुधबार , २०८०
कटारी / मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी कटारी नगर कमिटीले विभिन्न ७ बुँदे माग राख्दै कटारी नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । बुधबार पार्टीले राज्यपक्षबाट पाउनुपर्ने न्युनतम् सुविधाहरुलाई समेटेर समसामयिक विषयहरु समेटी ज्ञापन पत्र वुझाएको पत्रमा उल्लेख गरिएको छ ।
नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठलाई वुझाएको पत्रमा अव्यवस्थित वसोवासीलाई व्यवस्थित गर्नुपर्ने , धनीपुर्जा नपाएकालाई पुर्जा दिनुपर्ने , मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने भ्रष्टाचारी र कालाबजारी नियन्त्रण गर्नुपर्ने , मिटर व्याजी र लघुवीत्तले उठिवास गर्न लागेकाले नियन्त्रण गर्नुपर्ने मागहरु राखिएको छ ।
त्यसैगरी महिला हिंसा , छुवाछुत , बोक्सी , दाईजो प्रथा जस्ता कुरितीको अन्त्य गर्नुपर्ने , अवैध नदिनाला उत्खनन् वन्द गर्नुपर्ने र काठ तस्करी नियन्त्रण गर्नुपर्ने लगायतका मागहरु राखिएको छ । उक्त मागहरुमा स्थानीय सरकारले ध्यान नदिएमा चरणवद्ध संघर्षमा उत्रिने पार्टीका नगर कमिटी संयोजक सन्तबहादुर सुनुवारले बताउनुभयो ।
ज्ञापन पत्र वुझाए पश्चात पार्टीले राष्ट्रघात , जनघात तथा भ्रष्टाचारका विरुद्ध भन्दै भूगोलपार्कमा कोण सभा गरेको थियो । र्यालीले बजार परिक्रमा गरी भएको कोण सभामा वोल्दै पार्टीका प्रदेश कमिटी सदस्य भीम सुर्खेतीले एमसिसी राष्ट्रघाति परियोजना भएको बताउनुभयो । कार्यक्रममा दनुवार मुक्ती मोर्चाका अध्यक्ष मानबहादुर दनुवारले राष्ट्रघाति कदमहरु वन्द गर्न सरकारलाई आग्रह गर्नुभयो ।