जन्ताभ्वाईस सम्वाददाता
२३ असोज , मंगलबार , २०८०
कटारी / महान चाड , विजया दशमी , दिपावली तथा छठ पर्व नजिकिएसँगै कटारी नगरपालिकाले बजार अनुगमन गरेको छ । बजारमा किनमेल वढ्ने र यस्तो समयमा अखाद्य वस्तु तथा म्याद गुर्जेका सामाग्रीहरु विक्री वितरण हुन सक्ने कुरालाई ध्यानमा राख्दै बजार अनुगमन गरिएको हो ।
नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिका संयोजक तथा उपमेयर गिता खड्काको अध्यक्षतामा वसेको वैठकले बजार अनुगमनको टोली संयोजकमा कमल खत्री सहितको टोली गठन गरी अनुगमन गरिएको हो । कटारी वडा नम्बर ३ र ४ को बजार क्षेत्रमा तीन दिन गरिएको अनुगमका क्रममा १ लाख ५० हजार भन्दा बढीको म्याद गुज्रेका तथा अखाद्य वस्तु भेटिएको संयोजक खत्रीले बताउनुभयो ।
खत्रीका अनुसार उक्त सामाग्रीहरु मंगलबार नष्ट गरिएको छ । बजारमा चिउरा , चियापत्ती , मसला , चिप्स , लगायतका विभिन्न म्याद गुज्रेका सामाग्री तथा अखाद्य वस्तुहरु फेला परेको थियो । त्यसैगरी शृंगारका सामाग्री , रंग , सुपारी , विष्कुट , जुश लगायतका पेय पदार्थहरु समेत म्याद गुर्जेको पाईएको थियो ।
अनुगमन टोलीमा ईलाका प्रशासन कार्यालय कटारी , उदयपुर उद्योग वाणिज्य संघ , ईलाका प्रहरी कार्यालय , शसस्त्र प्रहरी वेश क्याम्प , पत्रकारका प्रतिनिधिहरु रहेका थिए । अनुगमन पछी बजारमा नियमित अनुगमन गरिने जानकारी दिंदै उपमेयर खड्काले म्याद गुर्जेका सामाग्री तथा अखाद्य वस्तु विक्रि वितरण नगर्न व्यापारीहरुलाई आग्रह गर्नुभयो ।त्यसैगरी म्याद हेरेर , मूल्यसूचि हेरेर मात्रै सामाग्री खरिद गर्न पनि उपमेयर खड्काले उपभोक्ताहरुलाई आग्रह गर्नुभयो ।
अनुगमनका क्रममा नगरपालिकामा व्यवसाय दर्ता भएको नभएको , दर्ता नविकरण गरे नगरेको , आवश्यक कागजात भए नभएको पनि निरिक्षण गरिएको टोली संयोजक खत्रीले जानकारी दिनुभयो ।


जनता भ्वाइस 








