images
images

कटारीमा जारी फुटबलमा कटारी भेट्रान्स र शाका फुटबल क्लव विजयी

जन्ताभ्वाईस सम्वाददाता
२० असोज , शनिबार , २०८०
कटारी/ कटारी , ३ च्याँगामा जारी प्रथम च्याँगा खुल्ला नकाउट फुटबल प्रतियोगिता , २०८० को शनिबारको खेलमा कटारी भेट्रान्स र शाका फुटबल क्लव विजयी भएका छन् । विहानको खेलमा भुल्के फुटबल क्लवलाई टाईपव्रेकरमा २ का विरुद्ध ४ गोल गर्दै कटारी भेट्रान्सले जित निकालेको हो । खेल अवधिमा एकएक गोलको वरावरी भएपछी टाईपव्रेकरबाट नतिजा निकालिएको हो ।
खेल अवधिमा कटारी भेट्रान्सका लागि झनक राई र भुल्केका लागि दिपेश दनुवारले गोल गरेका थिए । भुल्केका दनुवारको गोलले अग्रता लिएको भुल्केले अग्रता कायम गर्न नसक्दा टाईपव्रेकरबाट हार व्यहोर्नु परेको हो ।
त्यसैगरी वेलुकीको खेलमा देविधाप फुटबल क्लवलाई टाईपव्रेकरमा २ का विरुद्ध ४ गोल गर्दै शाकाले जित निकालेको हो । खेल पहिलो हाफमा देवीधापका लागि आकाश दनुवारले गोल गरेर अग्रता दिलाएका थिए ।तर खेलको थप समयको अन्तिम सेकेण्ड बाँकी रहँदा शाकाका लागि अनित दनुवारले गोल गरेर एकएकको बराबरीमा ल्याएका थिए ।
त्यसपछी भएको टाईपव्रेकरमा शाकाका गोल रक्षक प्रशान्त श्रेष्ठले सुन्दर २ बल नियन्त्रणमा लिएपछी शाका विजयी भएको हो । च्याँगा फुटबल क्लवको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद २१ हजारको साथमा शिल्ड , मेडल र प्रमाण पत्र , उपविजेताले नगद ११ हजारका साथमा शिल्ड , मेडल र प्रमाण हात पार्ने छन् । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी , उत्कृष्ट डिफेन्डर , उत्कृष्ट गोल रक्षक , उत्कृष्ट गोलकर्तालाई पनि नगद पुरस्कारका साथमा प्रमाण पत्र र मेडल प्राप्त गर्ने प्रतियोगिताका संयोजक यज्ञ कुमार राईले बताउनुभयो ।
संयोजक राईका अनुसार प्रतियोगिताका दुधौली र कटारीका गरी २३टिमले प्रतिष्पर्धा गर्नेछन् । राईका अनुसार प्रतियोगिताको दोस्रो चरणको खेलदेखि म्यान अफ त म्याचलाई समेत नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता आगामी असोज २९ गते सकिनेछ ।