images
images

कटारीको चिप्टार र खोटाङको बाइटार जोड्ने झोलुङ्गे पुल चार वर्षमा पनि बनेन

जन्ताभ्वाईस सम्वाददाता
१९ असोज , शुक्रबार , २०८०
कटारी / कटारी नगरपालिका–१० चिप्टार र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ बाइटार जोड्ने सुनकोसीको झोलुङ्गे पुल चार वर्षमा पनि निर्माण हुन सकेको छैन् । ०७६ मा पूर्वाधार विकास कार्यालय गाईघाटबाट तीन करोड ५० लाख रुपैयाँमा ठेक्का लिएका वसन्त बुढाथोकीले झोलुङ्गे पुल चार वर्षमा पनि निर्माण नगरेका हुन् ।
गुणस्तरहिन सामाग्री प्रयोग गरेका कारण पटक पटक पुल निर्माणाधिन अवस्थामा नै भत्किएपछी अहिले अलपत्र अवस्थामा रहेको कटारी–१० का वडाध्यक्ष क्षेत्रबहादुर खड्काले बताउनुभयो । ‘पूर्वाधारमा पनि पुल निर्माणका लागि पहल गरियो ’वडाध्यक्ष खड्काले भन्नुभयो ,‘अर्को ठेकेदारलाई दिंदा झन ढिला हुन्छ भनेर यसैलाई बनाउन लगाउने कुरा भयो ।’
वडाध्यक्ष खड्काका अनुसार अहिले ठेकेदार वुढाथोकी नै सम्पर्क विहिन बनेका छन् । उक्त पुल पाँच महिना अघि निर्माण नसकिंदै दोस्रो पटक भत्किएको थियो । त्यसअघि पनि पुलको स्ल्याब भत्किएको थियो । गुणस्तरहिन सामाग्री प्रयोगका कारण पुल भत्किएको स्थानीयको आरोप छ ।
स्थानीय धर्म खनालका अनुसार दोस्रो पटक पुल भत्किएपछी ठेकेदार सम्पर्क विहिन बनेका हुन् । ‘भत्किएको केहि सामानपनि बोकेर ठेकेदारले लगे ।’स्थानीय खनालले भन्नुभयो , ‘पुल निर्माणमा सुरुदेखि नै लापार्वाहीहुँदै आएको थियो । ’
पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग र ढिलासुस्ती भएकोबारे सम्बन्धित सरोकारवाला निकायलाई जानकारी गराउँदा बेवास्ता गरेको स्थानीयवासीले बताएका छन् । पुल नहुँदा दुवै जिल्लाका स्थानीयवासीले काठको डुङ्गाबाट जोखिम मोलेरै सुनकोसी आउजाउ गर्नुपर्ने बाध्यता छ ।
विशेषगरी उदयुरको कटारी बजारबाट खोटाङ्को हलेशी तुवाचुङ नगरपालिका तर्पm दैनिक उपभोग्य सामाग्रीहरु लैजान समेत काठको डुङ्गा प्रयोग गर्नुपर्ने वाध्यता छ । चाडबाडका लागि दैनिक उपभोग्य लगायतका सामाग्री लैजान पनि स्थानीयले जोखिम मोलेर काठको डुङ्गा प्रयोग गर्दै आईरहेका छन् ।