जन्ताभ्वाईस सम्वाददाता
१६ असोज , मंगलबार , २०८०
कटारी /कटारी , ३ च्याँगामा सोमबारदेखि सुरु प्रथम च्याँगा खुल्ला नकाउट फुटबल प्रतियोगिता , २०८० को मंगलबारको खेलमा ताराघारी फुटबल क्लव कटारी , ३ ताराघारी र च्याँगा फुटबल क्लव विजयी भएका छन् ।विहानको खेलमा खसिवास फुटबल क्लव कटारी , १ लाई २ का विरुद्ध ३ गोल गर्दै ताराघारी विजयी भएको हो ।
ताराघारीका लागि राजेश श्रेष्ठ र नितेश राईले एक एक गोल गरे । खसिबासका लागि कुशल सुनुवार र यामु पौडेलले गोल गरेका थिए । खसिबासले एउटा आत्मघाति गोल गर्दा पराजित हुनुपरेको हो । त्यसैगरी वेलुकीको खेलमा आयोजक च्याँगा फुटबल क्लवले भुसुनेलाई ० का विरुद्ध १ गोल गर्दै जित निकालेको हो । खेलमा च्याँगाका लागि जर्सी नम्बर १० का किरण दनुवारले गोल गरेका थिए ।
च्याँगा फुटबल क्लवको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद २१ हजारको साथमा शिल्ड , मेडल र प्रमाण पत्र , उपविजेताले नगद ११ हजारका साथमा शिल्ड , मेडल र प्रमाण हात पार्ने छन् । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी , उत्कृष्ट डिफेन्डर , उत्कृष्ट गोल रक्षक , उत्कृष्ट गोलकर्तालाई पनि नगद पुरस्कारका साथमा प्रमाण पत्र र मेडल प्राप्त गर्ने प्रतियोगिताका संयोजक यज्ञ कुमार राईले बताउनुभयो ।
संयोजक राईका अनुसार प्रतियोगिताका दुधौली र कटारीका गरी २३टिमले प्रतिष्पर्धा गर्नेछन् । राईका अनुसार प्रतियोगिताको दोस्रो चरणको खेलदेखि म्यान अफ त म्याचलाई समेत नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता आगामी असोज २९ गते सकिनेछ ।


जनता भ्वाइस 








