images
images

पर्यटकीय सम्भावना रहेको ऐतिहासिक गैंडा आहाल ओझेलमा

कटारी , ५ स्थित ऐतिहासिक गैंडा आहाल । तस्बिर/ जन्ताभ्वाईस
जन्ताभ्वाईस सम्वाददाता
३१ भदौ , आईतबार , २०८०
कटारी / कटारी नगरपालिका ५ स्थित सामुदायिक वन क्षेत्रमा पर्ने ऐतिहासिक गैंडा आहाल प्रचार प्रसार र उचित संरक्षण नहुँदा ओझेलमा परेको छ । सुगाजोर सामुदायिक वन क्षेत्रमा रहेको उक्त मनोरम आहालमा २०३० साल अघि गैंडा आहाल खेल्ने गरेको स्थानीय बताउँछन् । २०२७ सालसम्म उक्त क्षेत्रमा वस्ती रहेको थियो । गैंडा आहाल वस्ने भएपछी तत्कालिन वन मन्त्री हरिबहादुर वस्नेतले गैंडा संरक्षणका लागि वस्ती नै उठाएका थिए ।
आहाल र गैंडा संरक्षणका लागि वस्ती उठाईएपनि त्यसपछि यसको चासो कसैले नलिएपछी गैंडा समेत लोप भएको र पोखरी समेत ओझेलमा परेको हो । गैंडा आहाल ऐतिहासिक भएकाले यसको संरक्षण , विकास र प्रवद्धनको आवश्यकता रहेको वडाध्यक्ष मोहन तामाङ्गले बताउनुभयो ।
वडाको बजेटबाट सम्भव नहुने भएकाले यसको संरक्षणका लागि नगरले गौरवको आयोजनामा पार्नुपर्ने , प्रदेश र केन्द्रले पनि यसको संरक्षणका लागि चासो दिनुपर्ने वडाध्यक्ष तामाङ्गको भनाई छ । ‘यसलाई गुरुयोजना बनाएर पर्यापर्यटन अन्र्तगत वृहत योजना बनाएर अघि बढ्नुपर्छ ।’उहाँले भन्नुभयो , ‘वडाबाट सम्भव नै छैन् ’ वन क्षेत्र भित्र रहेको आहाल पुग्न सडक निर्माण गर्ने हो भने कटारी बजारबाट सवारी साधनका माध्यमबाट २० मिनेट मात्र लाग्छ तर पनि बजारवासी धेरैलाई गैँडा आहालबारे जानकारी छैन ।
आहालको संरक्षणसँगै वरपर पार्क निर्माण गरी वनभोजस्थलका रूपमा विकास गर्न सकिने सम्भावना समेत छ । नजिकै रक्तकाली मन्दिर रहेकाले पोखरी क्षेत्रलाई धार्मिक रूपले प्रवद्र्धन गर्न सकिने स्थानीयको भनाइ छ । सामुदायिक वन उपभोक्ता समूहका अध्यष भिमबहादुर कार्कीका अनुसार २० वर्षअघि जिल्ला विकासअन्तर्गत जीटीजेडको सहयोगमा पोखरी संरक्षणका लागि सामान्य बाँध लगाइएको थियो । त्यसयता कुनै काम हुन सकेको छैन ।
वनभोजस्थल निर्माण गर्ने चर्चा बेलाबेला चलाए पनि थप काम नभएको अध्यक्ष कार्कीले बताए । स्थानीयका अनुसार यस पोखरीमा केही वर्षअघिसम्म चुरे क्षेत्रबाट गैंडा आहाल खेल्न आउँथे । त्यसैले यसको नाम पनि गैंडा आहाल रहन गएको हो । यस आहालमा पानी हिउँदवर्षा कहिले सुक्दैन ।
सामुदायिक वनले ठेक्का लगाएर माछा पालन समेत गर्ने गरेको छ । चारैतिर हरियाली जंगल र वरपरको चौरले पोखरी मनोरम देखिन्छ । यसको संरक्षण र आकर्षक पूर्वाधार निर्माण गर्न सके आन्तरिक र बाह्य पर्यटक भित्राउन सकिने भन्दै ४ वर्ष अघि तत्कालिन कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीलाई आधिकारिक माग पत्र पेश गर्नुभएको थियो ।
तर मन्त्री अधिकारीको २०७५ सालमा ताप्लेजुङ्गमा हेलिकोप्टर दुर्घटनामा ज्यान गएपछी उक्त कामलाई अघि बढाउन नसकेको श्रेष्ठ बताउँछन् । आहाल नजिकै रक्तकाली मन्दिर रहेकाले पोखरी क्षेत्रलाई धार्मिक रूपले प्रवद्र्धन गर्न सकिने संभावना समेत छ ।