जन्ताभ्वाईस सम्वाददाता
२९ भदौ , शुक्रबार , २०८०
गाईघाट /नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा युवा नेता महेश बस्नेतले मुलुकका प्रधानमन्त्री नै सामाजिक सद्भाव विथोल्ने गरी हिंसात्मक गतिबिधिमा संम्लग्न रहेको आरोप लगाउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल उदयपुरको दशौँ जिल्ला अधिवेशनको उद्घाटन पूर्व प्रेस चौतारी नेपालले सदरमुकाम गाईघाटमा शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा बस्नेतले अतिजातिवादी र अराजक तत्वहरुको झुण्डलाई प्रोत्साहन पुग्ने गरी प्रधानमन्त्रीले प्रसय दिएको ठोकुवा गर्नुभयो ।
उहाँले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति देशलाई अस्थिरतातर्फ धकल्ने मात्र भएकाले जथाभावि बोलेर समाजलाई जजरजस्त हिंसात्मकतर्फ लैजान खोजे एमाले चुप लागेर बस्न नसक्ने चेतावनी दिनुभयो ।
‘हिजो कोसी प्रदेशमा मतदान गर्न आफ्ना संसदलाई ह्विप जारी गर्ने,’ बस्नेतले भन्नुभयो ‘आज सान्त्वना लिन वहुमत दिनुस पहिचानका आधारमा नामाकरण गर्छु भनेर दोहोरो भुमिका खेल्दा मुलुक भडखालोमा पर्ने संकेत देखिएको छ ।’
उहााले पहिचानका नाममाप्रधनमन्त्रीको संम्लग्नतामा नै जातिय, धार्मिक तथा सामाजिक सद्भाव विथोल्न खोज्ने गिरोह सकृय भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो , ‘एकातर्फ अतिहिन्दुवादीहरु धर्मको नाममा छिमेकी मुलुकबाट भित्र्एिको अर्कोतर्फ अतिजातिवादीहरु बर्षौदेखिको सामाजिक सद्भाव विथोल्न हिंसात्मक गतिविधि मच्चाईरहेका छन्, यी दुबै नेपालीहरुको हितमा छैनन् ।’
बस्नेतले सामाजिक सद्भाव, राष्ट्रिय एकता सहितको समुद्धीको यात्रा नै एमालेको पहिचान भएको स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई दरो बनाउन खोज्दा राष्ट्रिय राजनीतिमा नै एमालेमाथि आक्रमण भएको बताउनुभयो ।
पछिल्लो समय पुर्वराष्ट्रपति बिद्यादेवी भण्डारीलाई वामपन्थी एकताको नेतृत्व तपाईले गर्नु पर्छ भन्दै अनावश्यक विवादमा मुछेर एमालेलाई कमजोर बनाउने खेलमा नेकपा माओबादीका अध्यक्ष प्रचण्ड आफै लागेकोले हल्लाकोपछि नलाग्न उहाँले आग्रह गर्नुभयो ।
‘अहिलेको अवश्थामा एमाले अध्यक्ष केपीशर्मा ओलीको विकल्प छैन र यसबारे बहस पनि भएको छैन,’पोलिटब्युरो सदस्य बस्नेतले भन्नुभयो, ‘यस्तो वहस प्रायोजित रुपमा फेसबुक जस्ता सामाजिक सञ्जालहरुमा मात्र चलाइएका हुन्, यो वेमौसमी वाजा हो ।’
उहाँले भन्नुभयो, ‘कम्युनिष्ट पार्टीको वोर्ड र व्यानरका आधारमा फोहोरका डंगुरलाई भित्र्याउने एमालेको कुनै नीति नरहेको र सेनापति मिलाएर कम्युनिष्ट पार्टी बन्छ भन्नेमा विश्वस्थ छैनौ ।’
पछिल्लो समय सुशासन र भ्रष्टचारका नाममा सरकारले जतिपनि गतिविधि गरेको छ, त्यो केवल भ्रष्टचार मिलाउने खेल मात्र भएको उनले टिप्पणी गर्नुभयो । पुर्व उद्योग मन्त्रीसमेत रहेका बस्नेतले भ्रष्टाचार, अनियमितता, ब्यथिति, असुरक्षा जस्ता कुरा प्रधानमन्त्री पुष्पकमल दहालकै कारण मौलाएकाले त्यसविरुद्ध राष्ट्रिय युवासंघ नेपालले अभियान सुरु गरेको बताएउनुभयो ।
संघीय सरकार परिवर्तन सम्भव छ भन्ने पत्रकारहरुको जिज्ञासामा उहाँले भन्नुभयो ‘संघीय सरकार अप्राकृतिक छ, संसदिय व्यवस्थामा ठुलो दलले सरकार बनाउने हो, त्यसबाट भएन भने दोस्रो दलले, जुन अहिले भएको छैन्, काँग्रेसले हिम्मत गर्छ भने एमाले सत्तासमिकरण नगरी काँग्रेसलाई समर्थन गरेर जान सक्छ ।’


जनता भ्वाइस 







