images
images

तीनदशक अघिको गुल्जार कटारी बजारमा व्यापार घट्दो

 ऋषि राई
२५ भदौ , सोमबार , २०८०
ढाकरै बोकी ,टेकुवा टेकी ठ्याक्कै , ठ्याक्कै , ठ्याक्कै ‘’
ओखलढुंगा रुम्जाटारदेखि ठ्याक्कै , ठ्याक्कै , ठ्याक्कै
पसिना झार्दै तरर , चारदिनको बाटो कटारी बजार………
तीनदशक अघि विद्युतीय तरंगको एकमात्र संञ्चारमाध्यम रेडियो नेपालमा जेवी टुहुरे र सिताराम ताजपुरियाको यो गीत प्रशस्तै बज्थ्यो । यस गीतले चिनाएको उदयपुरको कटारी बजार एउटा ऐतिहासिक बजार थियो । पहाडका तीन जिल्ला ओखलढुंगा , खोटाङ्ग , सोलुखुम्बुको एकमात्र नुनतेल , भाँडावर्तन , अन्नपात , मरमसला किन्ने थलो थियो कटारी बजार ।
सडक थिएन यी तीन जिल्लासम्म कटारी बजारबाट ढाकरमा सामाग्री ढुवानी हुन्थे । पहाडी जिल्लाका आलु ढाकरमै कटारी आईपुग्थ्यो , फर्किन्दा ढाक्रेहरुले साहुका सामान बोकेर जान्थे । ‘त्यतिवेलाको कटारी बजार त गुल्जार थियो । ’२०२९ सालदेखि कटारी बजारमा व्यापार गर्दै आएका ज्योतिकुमार साह भन्छन् । ‘अहिले त चरोमुसो पसलमा आउँदैनन् ।’
साह सिरहाको बन्दिपुरहुँदै कमलाखोलाको बाटो अभिभावकहरुसँग कटारी बजार आईपुगेका थिए । ‘बाटो थिएन मधेसका व्यापारी कमला खोलैखोला कटारी व्यापार गर्न आएका थिए । ’साहले भने ‘धनुषा , सिरहा , सप्तरीबाट कटारीमा ठूलो व्यापार हुन्छ भनेर व्यापारीहरु आउँथे ।’
कटारी बजार सगरमाथाकोद्वारको रुपमा पनि परिचित बजार थियो । सगरमाथा चढ्नका लागि तेन्जिङ्ग शेर्पा र एडमण्ड हिलारी कटारी बजारकै बाटो गएको भनाई रहेको बुढापाकाहरु बताउँछन् । सोही कारणले कटारीलाई सगरमाथाको प्रवेशद्वार भनिन्थ्यो ।
२०५० सालसम्म कटारी बजार एउटा ऐतिहासिक बजार थियो । विस्तारै सडक निर्माण सुरु भयो । मिर्चैया कटारीहुँदै २०५४ सालमा कटारी, घुर्मी , ओखलढुंगा सडकको ट्रयाक खुल्यो । ‘बलबहादुर राईले यो सडक खोलेका हुन् । ’कटारी , ३ की ७५ वर्षिय रत्नमाया राईले भनिन् ‘बलबहादुरले पहाडका ढाक्रेहरुको निधारबाट नाम्लो खोलिदिन्छु भनेर भाषण गर्थ्यो खोलेरै छाड्यो ।’
नेपाली काँग्रेसका नेता पूर्व मन्त्री स्वर्गिय बलबहादुर राईको पहलमा यो सडक तत्कालिन साही सेनाले निर्माण गरेको थियो । सडक निर्माणसँगै पहाडी जिल्लाहरुमा सामाग्री ढुवानी सहज त भयो । तर त्यसपछी यो सडकले स्तरउन्नती हुन पाएन ।
मिर्चैया –कटारी २६ किमी र कटारी–घुर्मी ४४ किमी सडक यति जिर्ण बन्यो की यहाँ हिंड्न नै मानिसहरु डराउन थाले । ‘यो बाटो गएर समयमै गन्तब्यमा पुग्न सकिन्दैन् ।’ओखलढुंगा स्थायी घर भई कटारीमा रोजगारी गर्दै आएका शुभराज राई भन्छन् ‘ बीच बाटोबाट फर्किनुभन्दा सिन्धुलीबाट घुमेर जानु वेस ।’
सडक विस्तारले फड्को मारेसँगै सिन्धुलीको खुर्कोट घुर्मी बजारहुँदै पहाडी तीनजिल्ला आउजाउ गर्न सडक राम्रो भएपछी कटारीबाट आउजाउ कमी हुन थाल्यो । गाईघाटबाट खोटाङ्गपनि जोडियो त्यसपछी कटारी विस्तारै टोले बजारमा परिणत भयो । ‘यहाँ अव कहाँको मान्छे आउँछन् र ,’उदयश्री बहुमूखी क्याम्पस कटारीका प्रमुख मुकेश थापाले भने ‘कटारी ठूलो बजार हो भन्ने कुरा ईतिहास भईसक्यो ।’
तराईका जिल्लाबाट कटारी हुँदै पहाडी जिल्ला जानुपर्ने वाध्यता हट्यो । बाटो छोटो भएपनि स्तरउन्नती नहुँदा आउजाउनै कष्टकर हुने भएपछि मानिसहरु सिन्धुलीबाट घुमेर जान थाले । ‘अव त यो बाटो हलेशी जाने मानिसहरु पनि जान छोडे ।’ कटारीका होटल व्यवसायी प्रताप राईले भने ‘मदन भण्डारी राजमार्ग जोडिएकाले झिनो आशा मात्रै कायम छ नत्र बजार सुकिसक्यो ।’
कुनै समयको गुल्जार बजारमा अहिले ग्राहक नै नभएको उदयपुर उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष अरुण साह बताउँछन् । ‘व्यापारीहरु भाग्न थालिसके बजारमा किनमेल छैन् । ’उनले थपे ‘ग्राहक विनाका बजार सुनसान हुने रहेछ । ’
विगतमा कटारी बजारको शुक्रबारे हाट चर्चित हाट थियो । अहिले शुक्रबार हाट लाग्छ भन्ने कुरा पनि धेरैले विर्सिसकेका छन् । बजारको पहिचान कायम राख्न नगरपालिकाले कार्यविधि बनाएर कृषि उपज केन्द्रमा शुक्रबार हाट लाउन थालेको छ । तर हाटमा ग्राहक र व्यापारीको चासो देखिएको छैन् । ‘बजारलाई व्यवस्थित बनाउन पनि हाट बजार लाएका हौं ।’नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले भने ‘बजारको ईतिहास कायम गर्न नगरपालिकाले योजनाहरु बनाउनेछ । ’
(रासस)