जन्ताभ्वाईस सम्वाददाता
१५ भदौ , शुक्रबार , २०८०
राजावासको फोहोर विर्सजनस्थलको अनुगमन गर्दै कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ लगायत । तस्बिर जन्ताभ्वाईस
कटारी/ एक महिनापछी कटारी बजारको फोहोर उठ्ने भएको छ । कटारी , ३ राजावासका स्थानीयले फोहोर विर्सजनस्थलमा एकमहिनादेखि फोहोर फाल्न नदिएपछी कटारीको फोहोर उठ्न सकेको थिएन । कटारी नगरपालिका र स्थानीयवीच पटक पटक भएको वार्तापछी शनिबार देखि कटारीबजारको फोहोर उठ्ने भएको हो ।
फोहोर विर्सजनस्थलको व्यवस्थापनको जिम्मा राजावास टोलविकास संस्थालाई दिने , स्थानीय दुईजनालाई रोजगारी दिई फोहोर व्यवस्थापन गर्ने , पुरानो फोहोर पुर्ने र प्रत्येक हप्ता फोहोर पुर्ने लगायतका सहमति पछी एकवर्षका लागि स्थानीय फोहार फाल्न दिन तयार भएका हुन् । सहमति पछी फोहोर विर्सजनस्थलको अनुगमन गर्दै कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले तत्काल सहमति अनुसारका कार्यहरु अघि बढाईने बताउनुभयो ।
स्थानीय प्रभावित क्षेत्रका विपन्न विद्यार्थीहरुलाई नगरपालिकाले छात्रवृत्ति प्रदान गर्ने , स्थानीय सडक तथा भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्ने पनि सहमति भएको कटारी ४ का वडाध्यक्ष भूपेन्द्रसिंह तामाङ्गले बताउनुभयो । राजावास टोल विकास संस्थाका अध्यक्ष विजय अधिकारीका अनुसार शनिबार देखि नै स्थानीय दुईजनालाई विर्सजनस्थलमा काम गर्ने गरी सहमति भएको छ ।
लामो समय आन्दोलनमा उत्रिएका स्थानीयले एकवर्ष भित्रमा नगरपालिकाले वन कार्यालयसँगको समन्वयमा अन्यत्र विर्सजनस्थलको खोजि गरी वातावरण प्रभाव मूल्याकंन गर्ने गरी एकवर्षका लागि फोहोर फाल्न दिने सहमति भएको स्थानीय देव ढुंगेलले बताउनुभयो ।


जनता भ्वाइस 







