जन्ताभ्वाईस सम्वाददाता
१४ भदौ , विहिबार , २०८०
कटारी / वाम्बुले राई समाज (वाम्रास) जिल्ला कार्यसमिति उदयपुरको चौथो जिल्ला सम्मेलन विहिबार कटारीमा सम्पन्न भएको छ । सम्मेलनले ऋषि राईको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्ष हेम राई दिपक , सचिवमा उत्तरकुमार राई , कोषाध्यक्षमा रञ्जना राई र सह सचिवमा हिराजित राईलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा रेणुका राई , ओमराज राई , जस्मिता राई र यशवन्त राई चयन भएका छन् । समाजका केन्द्रीय सदस्य रामबहादुर राईको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा वोल्दै केन्द्रीय सदस्य राईले समाजले वाम्बुले राई समुदायको साँस्कृतिक क्षेत्रमा काम गर्नुपर्ने बताउनुभयो ।
वाम्बुले राई समुदायको महान चाड ढ्वाङ्कुमोको अवसर पारेर जिल्ला सम्मेलनको आयोजना गरिएको थियो । सम्मेलनमा पूर्व जिल्ला अध्यक्ष शुभराज राईले वाम्बुले राई समाजको अवस्था , उद्येश्य र महान चाड ढ्वाङ्कुमोको बारेमा प्रष्ट पार्नुभएको थियो ।
सम्मेलनको अवसरमा शुभकामना ंिदंदै किरात राई यायोक्खा नगर कमिटी अध्यक्ष पदम राईले वाम्बुले राई हरुको चाड ढ्वाङ्कुमो यस क्षेत्रमा विगतदेखि मनाउँदै आएको बताउनुभयो । त्यसैगरी समाजका पूर्व प्रवास समिति दुवईका अध्यक्ष जनक वाम्बुले राईले यस क्षेत्रमा पनि वाम्बुले राईहरुको लिब्जु , भुम्जु सामुहिक मनाउने स्थलको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा वोल्दै वाम्बुले राई समुदायका स्वास्थ्यकर्मी कर्ण राईले वाम्बुले राईहरुको भाषा संस्कृतिको जगेर्ना गर्न आवश्यक रहेको बताउनुभयो । सम्मेलनको सभापति निवर्तमान अध्यक्ष मनबहादुर राईले कोरोना लगायतका समस्याहरुले समाजको गतिविधि केहि कम भएको जस्तो देखिएपनि आगामी दिनमा कृयाशिल हुने बताउनुभएको थियो ।


जनता भ्वाइस 







