images
images

कटारीमा होटलमा काम गर्ने किशोर मृत भेटिए , करेन्ट लागेको आशंका

जन्ताभ्वाईस सम्वाददाता
१३ भदौ , बुधबार , २०८०
कटारी / कटारी नगरपालिका , ४ जहडीमा आज दिउँसो होटलमा काम गर्ने एक किशोर मृत भेटिएका छन् । अम्बरबहादुर श्रेष्ठ संञ्चालित मनकामना होटलमा ८ महिनादेखि काम गर्दै आएका कटारी , ८ ढापडाँडाका १८ वर्षिय किशोर प्रदिप वलम्पाकी मगर मृत भेटिएका हुन् ।
होटलको भान्सामा दिउँसो एक्कासी ढलेको पाईएको भन्दै होटल संञ्चालक श्रेष्ठले किशोरलाई अटोरिक्सामा नजिकैको कटारी अस्पत्ताल पुराएका थिए । अस्पत्ताल ल्याईपुराउँदा किशोरको मृत्यु भईसकेको पाईएको कटारी अस्पत्तालका प्रमुख निमित्त मेडिकल सुपरिडेण्टेड डा.गौरब साहले बताउनुभयो ।
घटनास्थलको अनुसन्धानका क्रममा करेन्ट लागेर ज्यान गएको जस्तो आशंका गर्न सकिने देखिएपनि पोष्टमार्टम रिपोर्ट र थप अनुसन्धान नगरी भन्न सक्ने अवस्था नरहेको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले बताउनुभयो । घटनास्थलमा विजुलीको तारहरु जोड्दा करेन्ट लागेको जस्तो देखिएपनि थप अनुसन्धानपछी मात्र कारण पत्ता लाग्ने पनि उपरीक्षक कार्कीले बताउनुभयो ।
घटनापश्चात शवलाई पोष्टमार्टमका लागि कटारी अस्पत्तालमा राखिएको र किशोरका अभिभावकहरु आउँदै गरेको कटारी , ८ का वडाध्यक्ष नविन्द्र तामाङ्गले बताए ।